| आइतवार, कार्तिक २२, २०८३

छोप्राकमा मिलको तार काटिदिँदा करेन्ट लाग्यो

गोरखाका सिरानचोक गाउँपालिका ४ छोप्राकमा दण्डपाणी पोखरेलको मिलमा अज्ञात ब्यक्तिले पटक पटक बिजुलीको तार काटिदिँदा दुर्घटना भएको छ ।

आईतबार तार सट् भएर करेन्ट लाग्दा छोरा पवन पोखरेल गम्भीर घाईते भएको उनले बताए ।
‘एक महिनाको अवधीमा तीनपटक मिलमा तार काटिएको छ’, उनले भने, ‘कसले किन काट्यो भन्ने थाहा छैन । बिहान हेर्दा तार काटिएको देखिन्छ । करेन्ट सर्ट भएर ज्यान नै जाला डर छ ।’ उनले पाँच वर्षदेखि त्यहाँ मिल चलाउँदै आएका छन् । यसअघि यस्तो भएको उनलाई कहिल्यै थाहा थिएन ।

रातको समयमा घर नजिकैको मिलमा कसले आएर तारा काट्छ भन्नेमा उनी अनविज्ञ छन् । बिहान मिलमा गएर धान, कुट्न लाग्दा तारा काटिएको थाहा पाउँछन् ।

धान कुट्ने, तोरी पेल्ने, मसला पिस्ने उनको मिल छ । ब्यवशायीको रिस गरेर तार काटिदिएको हुन सक्ने आशंका उनलाई लागेको छ । गाउँका अन्य मिलमा केही नहुने तर उनको मिलमा पटक पटक तार काटिँदा उनी आश्चर्यमा छन् ।

तार काटिँदा आफ्नो मिलमा एक लाख ५० हजार भन्दाबढिको क्षति भइसकेको उनको भनाइ छ । आईतबार उनको छोरालाई करेन्ट लागेर बेहोस भए । ‘गोरखा अस्पतालमा उपचार गराएर सोमवार घर फर्किएको छु’, उनले भने, ‘मिलमा तार काट्नेका कारण ज्यान नै जाला जस्तो भयो ।’

प्रहरीले अहिले भने केही ब्यक्तिलाई सोधपुछ गरिरहेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यसअघि भने पटक पटक घटनाबारे जानकारी गराउँदा प्रहरीले चासो नदिएको र घटना दोहोरिएको गुनासोका मिलधनी पोखरेलको छ ।

प्रतिक्रिया दिनुहोस्