
ठूलोआँगनमा पृथ्वीनारायण शाह कालीन परेड
नेपाली सेनाले गोरखामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिने गरी परेड प्रदर्शन गर्ने भएको छ । जिल्लामा भित्रिएका पाहुनाको बसाइ अवधि लम्ब्याउन गोरखा संग्रहालय क्षेत्र(ठूलोआँगन)मा परेड प्रदर्शन गर्ने गोरखा नगरपालिकाको भनाइ छ ।
आगामि पुस २७ गतेबाट ठूलो आँगनमा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिने गरी परेड सुरु गरिने भएको छ । हरेकदिन बिहान र बेलुकी यस्तो परेड संचालन हुने उनले बताइएको छ । यसले गोरखा भित्रिएका पर्यटकलाई रम्ने वातावरण तयार पार्नेछ । गोरखा ठुलो आँगन(तल्लो दरबार संग्रहालयअघि) यस्तो परेड संचालन गरिनेछ । सूर्योदय र सूर्यास्तको समय पारेर हरेकदिन बिहान र बेलुकी परेड संचालन गर्ने तयारी भईरहेको छ ।
पुस २७ देखि सुरु हुने परेडको नेपाली सेनाका प्रधानसेनापतिले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि दैनिक नियमित रुपमा परेड प्रदर्शन हुनेछ ।
दरबार परिसरको ठुलो आँगनमा पृथ्वीनारायण शाहको सालिक राखेर बिहान सूर्योदय र बेलुकी सूर्यास्तको समय पारेर दिनमा दुईपटक परेड संचालन गरिनेछ । पृथ्वीनारायण शाहको फौजको झल्को दिनेगरी सेनाको बहालवाला फौज यसमा संलग्न हुनेछन् । यो परेडमा सेनाको भिन्दै टिम सहभागी हुनेछन् ।
यस्तो खालको परेड अहिलेसम्म बेलायतमा तथा भारत–पाकिस्तान सिमानामा मात्र प्रदर्शन हुने गरेको छ । ऐतिहासिक ठाउँको पहिचान दिलाउने गतिविधि भएकोले पनि यसको महत्व रहेको बताइएको छ ।
गोरखामा संचालन गरिने यो परेडका लागि नेपाली सेनाले स्वीकृति दिएर भिन्दै टिम खटाउने तयारी भएको छ । नियमित रुपमा २१ जनाको फौज यो काममा खटिनेछन् । ऐतिहासिक गतिविधि भएकोले पनि यस्तो फौजको परेड पर्यटन क्षेत्रका लागि नौलो हुनसक्छ । नेपालमा प्रथम पटक हुने भएकाले यो परेड नेपालीका लागि पनि नयाँ नै हुनेछ ।




