
गोरखामा अपाङ्गता सहायता कक्ष उद्घाटन, स्वास्थ्य शिविर सम्पन्न
गोरखामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा अपाङ्गता सहायता कक्षको उद्घाटन गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई कामकाजमा सहजीकरणका लागि स्थापना गरिएको अपाङ्गता सहायता कक्ष शनिबार जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगर र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले उद्घाटन गरेका नेत्रहिन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेतले बताए ।
दिवसकै अवसरमा जिल्ला समन्वय समितिको भवन परिसरमा निशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको थियो । उत्त शिविरमा २४ जनाले थेरापी, ४६ जनाले कान सम्बन्धी स्वास्थ्य लाभ, ४५ जनाले आँखा चेकजाँच र ४३ जनाले जनरल सेवा लिएका अध्यक्ष बस्नेतले बताए ।
बिहान १० बजेबाट सुरु भएको शिविर बेलुका ४ बजेसम्म संचालन भएको थियो । पोखरा आएएनएसबाट आएका कान रोग विशेषज्ञ उत्तम पराजुली र सुदिप बरालले कान सम्बन्धी चेकजाँच गरेका थिए । आँखा लायन्स आँखा अस्पताल गोरखाले आँखा सम्बन्धी र गोरखा अस्पतालका डाक्टरले थेरापी सम्बन्धी समस्याको चेकजाँच गरेका उनले जानकारी दिए ।
गोरखा नेत्रहिन संघको आयोजनामा भएको कार्यक्रम सचिव पर्शुराम भट्टले संचालन गरेका थिए । संघका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिससका प्रमुख थापामगर, सहायक प्रजिअ बराल, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार लगायतको उपस्थिति रहेको थियो ।




