| सोमवार, कार्तिक २३, २०८३

गोरखकाली गफले गिज्याइरहने गोरखा

बेलाबेला गोरखामा गोरखकालीे गफले गिज्याउने गर्छ । टायर उत्पादन गर्ने नेपालको एक मात्र उद्योग गोरखकाली रबर उद्योग पूर्ण रुपमा बन्द भएको आठ बर्ष बित्यो । अहिले उद्योग झाडीभित्र छ । यो बीचमा गोरखकाली गफ धेरै पटक चल्यो ।

गोरखकाली रबर उद्योग चलाउँछु भन्ने भाषण गरेर कोही सांसद बने, कोही मेयर बने । सांसदको अवधि सिद्धियो, मेयरको पनि अवधि सकियो, उद्योग ज्युँका त्यूँ झाडीभित्रै छ । अहिले नयाँ सांसद चुन्ने बेलामा प्रचण्डले पनि गोरखकाली चलाउँछु भनेर ठाउँठाउँमा भाषण गरे ।

चुनाव सिद्धिए लगत्तै एउटा चिनियाँ टोली आएर रबर उद्योगको अवलोकन गरेपछि गोरखकाली गफ फेरि सुरु भएको छ ।
नेपालमा बुटवल धागो उद्योग, भृकुटी कागज कारखाना, बिराटनगर जुटमिल, हेटौँडा सिमेण्ड उद्योग, बाँसबारी जुत्ता कारखाना जस्ता दर्जनौँ उद्योग बन्द भएका छन् ।

निजी क्षेत्रले चलाएका उद्योग नाफामा चल्ने, सरकारले चलाएका उद्योग धरासायी र बन्द समेत हुने धेरै दुखको कुरा हो । निजी क्षेत्रले चलाएका दर्जनौँ सिमेण्ट उद्योग फस्टाइरहेका छन्, तर अब्बल दर्जाको मानिने हेटौँडा सिमेण्ट(सरकारी) उद्योग बन्द भयो । सूर्य नेपाल प्रालि व्यापक नाफामा चल्ने, जनकपुर चुरोट कारखाना(सरकारी) बन्द हुने बिडम्बनाको कुरा हो ।

उद्योग बन्द हुँदा एकातिर अरबौँ, खरबौँका सम्पत्ति माटोमा मिलेका छन्, अर्कातिर नूनदेखि सुनसम्म आयातमा भर पर्नु परेको छ । यही बेदनाका बीच बेलाबेला गोरखकाली गफले गोरखालीलाई गिज्याउने गर्छ ।
अहिले फेरि चिनियाँ टोलीको भ्रमणले एक फेर गोरखकाली गफ गुञ्जिन थालेको छ ।

सरकारले चलाउन नसके पनि यसलाई निजी क्षेत्रले चलायो भने पनि कम्तिमा स्वदेशी उत्पादनप्रति गौरव गर्ने बिषय बन्थ्यो । टायरका लागि स्वदेशी मुद्रा विदेशिन्थेन । डलरको संकट टथ्र्यो । त्यसैले यसलाई पुन सञ्चालनको दिशातिर लैजाउने वातावरण बनाऔँ ।

प्रतिक्रिया दिनुहोस्