| शनिबार, अशोज २, २०८३

त्रिशुली पुलको ठेक्का तोड्ने पप्पु कन्स्ट्रक्शनलाई कालोसूचीको चेतावनी

चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुटार जोड्ने गरी त्रिशुली नदीमाथि पप्पु कन्स्ट्रक्शनले पुल निर्माणको जिम्मा लिएको आठ वर्ष बित्यो । २०७१ असार २९ गते १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का बिरगंज उपमहानगरपालिका १० पर्साको पप्पु कन्स्ट्रक्शनले पायो । दुबैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्स्ट्रक्शनले काम छाडेको वर्षौँ बित्यो ।

काम छाड्ने पप्पु कन्स्ट्रक्शनलाई गोरखा स्थित ११ किलो छेपेटार–भालुस्वाँरा–बारपाक सडक योजनाले निर्माण काम सम्पन्न नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने जनाएको छ । ‘सुचना प्रकाशित भएको सात दिनभित्र निर्माण स्थलमा सम्बन्धित निर्माण ब्यवशायी परिचालित भई निर्माण काम सञ्चालन गर्न भनिएको आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए । ‘अन्यथा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौता शर्त बमोजिम ठेक्का तोडिनेछ’, उनले भने ।

कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै कम्पनीले काम सम्पन्न गर्न कुनै प्रयास नै नगरेको, तदारुकता नदेखाएको जनाएको छ । पटक पटक लिखित एवं मौखिक जानकारी गराउँदासमेत निर्माण कार्य सम्पन्न गर्न गराउन कम्पनीले चासो नदिएको सुचनामा उल्लेख छ ।

सम्झौताअनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपथ्र्यो । निर्माण सुरु भएको आठवर्ष र सम्पन्न भईसक्नुपर्ने पाँच वर्षसम्म पुलको प्रगति ११ प्रतिशत मात्रै छ । समयमै काम नसक्ने निर्माण ब्यवशायीलाई २०७५ असार २७ गते कार्यालयले करिब दुई करोड भुक्तानी दिएको छ ।

निर्माण कम्पनीले पुलको गोरखातर्फ निर्माण सामग्री लैजाने सडक नभएको भन्दै गरेको दावीका विषयमा कार्यालयसँग बिवाद भयो । बिवादपछि निर्माण ब्यवशायीले सर्वोच्च अदालतमा २०७६ कात्तिकमा मुद्धा दायर गरेका थिए । २०७८ मंसीरमा निर्माण कम्पनीले फेरि उच्च अदालतमा कार्यालय बिरुद्ध अर्को मुद्धा दायर गरेको थियो । काम नगरी बिभिन्न बहानामा कार्यालयलाई उल्टै निर्माण कम्पनीले मुद्धा दायर गर्ने गरेको छ । निर्माण कम्पनीले कार्यालयले दबावमा राख्दा यसअघि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न सकेन ।

पुलको गोरखातर्फ कच्ची सडक खुलेको छ । निर्माण कम्पनीले उक्त सडक भएर मेसिन लैजान नसक्ने भएकाले बेलिब्रिज बनाईदिन माग गरेको हो । कार्यालयले भने बाटो खुलेकाले लैजान सकिने बताउँदै आएको छ ।

पक्की पुल नजिकै एकसय मेगावाटको सुपर त्रिशुली जलविद्यूत आयोजना निर्माण हुँदैछ । पप्पुले पुल नबनाउँदा उक्त आयोजना पनि अन्यौलमा छ । अन्ततः जलविद्युत आयोजना निर्माण गर्न लागेको ब्लु इनर्जी कम्पनीले सडक विभागको समन्वयमा बेलिब्रिज बनाउने बारे एकवर्षअघि सहमति भएको थियो ।

ब्लु इनर्जीसित ठेक्का लिएको चिनियाँ सिसिसिसी कम्पनीले बिना जानकारी काम छाडेर भागेपछि बेलिब्रिज पनि निर्माण हुन सकेको छैन । जलविद्युत आयोजनाले लागत ब्यहोर्ने र सडक विभागले बेलिब्रिज उपलब्ध गराउने विषय अहिले अन्यौलमा छ । २०७९ बैशाखमा काम सक्ने गरी बेलिब्रिज बनाउने भनिएको थियो । तर अहिलेसम्म केहीपनि काम नभएको सडक आयोजनाले जनाएको छ ।

राजमार्ग जोड्ने बुटार पुल अलपत्र हुँदा गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । त्यहाँका स्थानीय दैनिक डोकोमा तरकारी बोकेर झोलुङ्गे पुलहुँदै आउने जाने गर्छन । गोरखा १ प्रदेश ‘क’ का सांसद कृष्ण धितालले पुल तत्काल आवश्यक परेको र लामो समयदेखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको बताए । ‘तत्काल काम नगरे नयाँ प्रक्रिया थाल्न कार्यालयसँग मैले भनेको छु’ उनले भने ‘महत्वपूर्ण पुललाई यसरी अलपत्र बनाउन मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्