| सोमवार, कार्तिक २३, २०८३

करोडौँको भवन कौडीमा मिल्किँदै

पालुङटार नगरपालिका ७ च्याङ्ली, विरुवाटारमा रु १५ करोड लागतमा नवनिर्मित भवन प्रयोगविहिन अवस्थामा छ । भूकम्प पीडित सुकुम्बासीलाई राख्ने लक्ष्य राखी निर्मित सो भवन प्रयोगविहिन भएपछि अहिले कौडीमा मिल्किरहेको हो ।
अहिले भवन निर्माण सकिएको छ तर भवन उद्देश्यअनुसार प्रयोग नहुने देखिएको छ ।

भूमिहिन सुकुम्बासी कहाँबाट ल्याएर राख्ने भन्ने पहिचान भएको छैन । भूमिआयोगले भूमिहिनलाई जग्गा दिने प्रक्रिया अघि बढाएको छ । एउटा कोठामा मात्र बस्न भूमिहिन सुकुम्बासी अहिले भोगचलन गरिरहेको ठाउँ छाडेर त्यहाँ जाने अवस्था देखिँदैन ।

निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाई कास्की र उक्त इकाईले बनाएको सो भवन पालुङटार नगरपालिकालाई हस्तान्तरण गर्दैछन् । तर यो के कालागि प्रयोग हुने भन्नेबारे न निर्माण गर्ने कार्यालय, पालुङटार नगरपालिका वा निर्माण ब्यवशायीलाई थाहा छ ।

भूकम्प पीडितले राज्यले दिएको तीन लाख अनुदान लिएर र भूमिहिनले थप दुई लाख सहित घर बनाएर बसिसकेपछि अब उनीहरुकालागि भवन उपयुक्त छैन । पहिले सुकुम्बासी भूकम्प पीडितलाई राख्ने उद्देश्यले ठेक्का सम्झौता भएको भवन काम सुरु भएपछि डिजाईन परिर्वतन भयो ।

नगरपालिकाले कृषि क्याम्पस, अस्पताल वा बिजनेस कम्प्लेक्स केहीमा प्रयोग गर्न सकिने योजना गरेको छ । के मा प्रयोग गर्दा संचालन सहज रुपमा गर्न सकिन्छ भन्ने बारे पहिल्यै अध्ययन हुनुपथ्र्यो ।

आवश्यकताको प्राथमिकीकरण नगरी काम गरेपछि यस्तै नतिजा आउँछ भन्ने उदाहरण बनेको छ । आवश्यकता धेरै, स्रोत कम भएको हाम्रो जस्तो मुलुकमा यो १५ करोड भएको भए अति खाँचो परेका धेरै काम हुनसक्थ्यो । बिना उद्देश्यले करोडौँ रुपैयाँ लगानी गरेर भवन ठड्याउनु राज्यको लगानी बालुवामा पानी हुने खतरा छ ।

प्रयोग नै भएछ भनेपनि भवनको संरचना लगानी प्रयोग हुनेगरी हुनुपर्छ । अन्यथा नाम मात्रको प्रयोगले राज्यको लगानी खेर जाने खतरा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्