| सोमवार, कार्तिक २३, २०८३

सैद्धान्तिक होइन, व्यवहारिक ज्ञान दिएर महिला हिंसाविरुद्ध अभियान चलाऊ

अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालित छ । गोरखाका सदरमुकाम लगायत विभिन्न पालिकाहरुमा यो अभियान सञ्चालन भइरहेको छ ।

महिलामाथि हुने हिंसाको समुल अन्त्यका लागि विश्वभर बर्षौँदेखि यो अभियान सञ्चालनमा छ ।
नेपालको सन्दर्भमा यो अभियानले हिंसा अन्त्यका लागि कति प्रभाव पारेको छ, पछि कुनै तथ्याङ्क आउला, तर अहिले चाहिँ यो अभियानले सैद्धान्तिक क्षेत्रमा मात्र काम गरेको छ, व्यवहारिक छैन ।

महिला हिंसा अन्त्यका लागि व्यक्ति—व्यक्तिबाट परिवर्तन सुरु गर्नुपर्छ । परिवार—परिवारबाट परिवर्तन सुरु गर्नुपर्छ । विशेषगरी महिला हिंसा अन्त्यका लागि महिला स्वयंबाट यो प्रतिवद्धता र व्यहार चाहिन्छ ।

नेपाली समाजमा जन्मेपछि छोरा र छोरीको हुर्काइ नै लैंगिक हिसाबले विभेदपूर्ण हुन्छ । छोरीले यसो गर्नु हुँदैन, यसो गर्नुपर्छ भन्नेजस्ता विभेदकारी व्यवहार गरिन्छ, गर्न लगाइन्छ । आफ्नै सन्तानबीच विभेद गर्न समाजले नै परिवारलाई सिकाइरहेको हुन्छ, तसर्थ परिवर्तन व्यक्ति, परिवार हुँदै समाजसम्म पुर्याउन आवश्यक छ ।

वंश परम्परा नै पुरुषका तर्फलाई मान्यता दिने, पुख्र्यौली सम्पत्तिमा छोरीलाई हक नदिने, शिक्षामा पनि छोरीका हकमा विभेद गर्ने गर्दा नै महिला पछि धकेलिएका हुन्। आर्थिक र शैक्षिक हिसाबबाटै कमजोर पारेर महिलालाई उँभो उठ्न नदिने संरचना नभत्काएसम्म हिंसा अन्त्यको गन्तव्य भेट्न मुस्किल हुन्छ ।

महिलामाथि समान व्यवहार नभएसम्म समाजमा न सुरक्षा हुन्छ, न उन्नति । समृद्धिको महत्वपूर्ण सर्त महिलामाथिको विभेद र हिंसा अन्त्य पनि हो ।

घरघरमा, कोठाचोटामा महिलामाथि हिँसा छ । अभियानमा त्यस्ता हिंसा पिडित महिलाहरुलाई नै सहभागी गराएर त्यसका बिरुद्ध आवाज बुलन्द गर्नुपर्छ । अहिले चलिरहेका औपचारिक कार्यक्रमलाई अल्लि कम गरेर, व्यवहारिक अभियान नै सञ्चालन गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्