| सोमवार, कार्तिक २३, २०८३

थुम्कीडाँडाको उदाहरणीय शाकाहारी अभ्यास

ओम गुरुङको शव्द, संगीत र स्वरमा गुञ्जिएको जहाँ ढुंगा ढुंगामा देवताको बास छ, जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ भन्ने गीत नै नेपालका विविधताको वर्णन गर्न काफी छ ।

पालुंटार नगरपालिका वडा नं. ९ को थुम्कीडाँडा एक यस्तो श्रेष्ठत्तम विशेषता बोकेको गाउँ हो, जहाँ बिगत ५० बर्षदेखि काटमार गरिएको छैन, जहाँका बासिन्दा हिंसा गर्दैनन्, जहाँका बासिन्दा सतप्रतिशत साकाहारी छन् । उनीहरु सतप्रतिशत कृष्ण प्रणामी धर्मावलम्बी हुन् ।

यहाँ अहिले गुरुङ समुदायको मात्र बसोबास छ । करिब ५० बर्षअघि यहाँ मिश्रित समुदायको बसोबास थियो । त्यतिबेला गुरुङ समुदाय मात्र शाकाहारी थिए, अरु समुदाय मांशाहारी पनि थिए । जब बसाइँ सर्ने क्रम सुरु भयो, यहाँका अन्य समुदाय बसाइँ सरेर तल्लो भेगतिर गए र गुरुङ समुदाय मात्र बाँकी रहे अनि उनीहरुको अहिंसाको प्रथाले फुल्ने, फल्ने मौका पायो ।

त्यसपछि उनीहरुले अहिंसाको नियमलाई कडाइका साथ पालना गर्न थाले । अहिले यहाँका बासिन्दा कोही पनि मांशहारी छैनन् । यहाँका बासिन्दाका रोजगारीका क्रममा सहरी क्षेत्रमा गएको भए पनि साकाहारी नै छन् । उनीहरुले विवाह गरेर बाहिरि गाउँकी चेली ल्याउनु पर्ने भयो भने पनि दुई बर्षदेखि साकाहारी अभ्यास गराएर मात्र ल्याउने गर्छन् ।

त्यतिमात्र होइन, यो गाउँमा कुखुरा, बाख्रा पालन पनि हुँदैन । गाईगोरु, भैँसी पालन मात्र हुन्छ । दशैँ, तिहार जस्ता चाडपर्व त मनाउँछन्, तर साकाहारी तरिकाले । उनीहरु यसैमा रमाइरहेका छन् । सद्गुरुको शव्दमा ‘मान्छेको जात माछामासु खाने जीव होइन । पूर्वीय सभ्यतामा पनि माछामासु खान बर्जित गरेको छ ।

तर पश्चिमा सभ्यतामा प्रचलित मांशाहारी परम्पराले पूर्वीय सभ्यता ढपक्कै ढाकिसकेको छ ।’ यस्तो अबस्थामा यो थुम्कीडाँडाको पूर्वीय सभ्यतालाई बचाइराख्न सफल भएको छ । यहाँको शाका हारी अभ्यासलाई नमूना बनाएर अझै प्रवद्र्धन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्