
रोटरी क्लव अफ गोरखाद्वारा गोनपालाई ह्विलचियर प्रदान
रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकालाई ह्विलचियर प्रदान गरेको छ । ताइवानबाट रोटरी नेपालले उपलब्ध गराएको २० वटा ह्विलचियर रोटरी क्लव अफ गोरखाले आईतवार नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको हो ।
क्लवका अध्यक्ष कृष्ण ढकालले नगरप्रमुख कृष्ण राना मगरलाई ह्विलचियर प्रदान गरेका हुन् । उक्त ह्विलचियर गोरखा नगरपालिकाले आवश्यक पर्ने नगरपालिका भित्रका ब्यक्तिहरुलाई उपलब्ध गराउने जनाएको छ । शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका, ह्विलचियरको सहायता लिनुपर्ने जेष्ठ नागरिकलाईलाई आवश्यकताको आधारमा एउटा नीति बनाएर उपलब्ध गराउने नगरप्रमुख रानाले बताए ।
रोटरी क्लवका अध्यक्ष कृष्ण ढकालले रोटरी सामाजिक संस्था भएकाले सामाजिक काममा स्थानीय तहहरु, संघ संस्थासँग मिलेर निरन्तर अघि बढ्ने बताए ।
ताईवानबाट प्राप्त ह्विलचियर निशुल्क बितरण हुनेछ । ढुवानीकालागि क्लव र गोरखा नगरपालिकाले पनि सहयोग गरेको रोटरी क्लव अफ गोरखाका पूर्व अध्यक्ष पवनरमण खनालले बताए । साथै उनले अझै थप सहयोग उपलब्ध हुने आश्वासन आएकाले उपलब्ध गराउँदै जाने बताएका छन् ।




