
अन्तिम नतिजा नआउँदै बधाइ, चाकडी कि आत्मीयता ?
आम निर्वाचन २०७९ को मतगणना धमाधम जारी छ । मतगणनामा पहिलो हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ कांग्रेसका उम्मेदवार धेरै विजयी भएका छन् । अग्रता पनि कांग्रेसकै बढि देखिन्छ । दोस्रो स्थानमा एमाले देखिएको छ । तेस्रो स्थानमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको उछिनपाछिन छ । निचोड अन्तिममा आउला ।
तर समानुपातिकको नतिजा फरक छ । अहिलेसम्म समानुपातिकमा नेकपा एमालेको मत धेरै देखिन्छ । दोस्रोमा कांग्रेस र तेस्रोमा उस्तै दृश्य छन्, माओवादी केन्द्र र स्वतन्त्र पार्टी बीच ।
सामाजिक सञ्जालमा मतगणनाको अपडेट गर्ने होडबाजी छ । एउटाले कुन स्रोतबाट नक्कल उतारेर पोस्ट गर्छ, त्यसपछि त्यसैलाई कपिपेस्ष्ट गरिरहेका छन् । त्यो सत्य हुन पनि सक्छ, झुठो हुन पनि सक्छ । भेरिफाइ गर्ने चासो कसैको छैन । त्यसो त अहिलेको ७५ प्रतिशतभन्दा धेरै पत्रकारिताको क्षेत्र कपिपेस्ट पत्रकारिताले नै ओगटेको छ ।
यति मात्र होइन, तिनै पोस्टको आधारमा अहिले अग्रता लिएका उम्मेद्वारका कार्यकर्ता, ‘फलोअर्स’, अन्धभक्तहरु धमाधम बधाइ दिइरहेका छन् । अझै दशौँ, बीसौँ हजार मत गन्न बाँकी नै रहेको अबस्था छ, तर अन्धभक्तहरु धमाधम बधाइ दिइरहेका छन् ।
छिट्टै तात्ने धातु(जस्तो कि तामा), छिट्टै सेलाउँछ पनि । बिस्तारै तात्ने पदार्थ(जस्तो पानी), सेलाउन पनि बेर लाग्छ ।
मान्छेमा पनि यी विशेषता तौलेर अबलम्बन गर्नु आवश्यक छ । छिनमै प्रसंसा गर्नेहरु निहित स्वार्थ पूरा नभए पनि छिट्टै बिरोधमा उत्रिएका घटना कसैका लागि नयाँ होइन ।
त्यसैले अन्तिम मत परिणाम घोषणा हुञ्जेल धैर्य गरौँ । संयमित बनौँ । विजयी घोषणा भएपछि आफ्नो सामाजिक सञ्जाल त आफ्नै हो । जति बधाइ दिए पनि भैगो ।




