
गोरखाको ११ केन्द्रमा पुन मतदानको माग, मत गणना सुरु भएन
गोरखाको ११ वटा मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ । सत्ता गठबन्धनले गोरखा क्षेत्र नम्बर १ को चार र २ को सात वटा केन्द्रमा आईतवार भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा धाँदली गरेको आरोप गठबन्धन इतरका दलहरुको छ ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल लगायतले पुन निर्वाचन हुनुपर्ने माग राखेका हुन् ।
गोरखा २ मा पालुङटार १ को स्थानिका आधारभुत विद्यालय, सिरानचोक ८ को परोपकार मावि जौवारी, बारपाक सुलिकोट गाउँपालिकाको सूर्यज्योती मावि, पालुङटार ७ को जीवनज्योती मावि, बारपाक सुलिकोट ४ को हिमालय मावि, दुर्गा मावि रञ्चोक, अजिरकोट ३ को ज्ञानज्योती माविमा धाँदली भएको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए ।
यस्तै निर्वाचन क्षेत्र नम्बर १ को भिमसेन थापा १ को बालकल्याण आधारभुत विद्यालय, बिन्द्रवती मावि मसेल, भिमसेन थापा ८ को भिमसेन आधारभुत विद्यालय र धार्चे ३ को पार्वती आधारभुत विद्यालयमा धाँदलीपूर्ण मतदान भएको एमाले सहितका दलहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । सोमवार पत्रकार सम्मेलन गर्दै एमाले सहितका दलहरुले यी ठाउँमा उनीहरुले पुन निर्वाचनको माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा २ का उम्मेदवार कबिन्द्र बुर्लाकोटीले दलका प्रतिनिधिलाई बोल्न नदिने, मतदाता नआईपुग्दै मत खसालिदिने, नाम रुजु गर्ने नाममा काउन्टर राखेर मतदाता प्रभावित पार्ने काम भएको बताए । ‘निर्वाचनमा जसको शक्ति छ उसले बलमिच्याँई गर्ने गरेको अहिले पनि देखियो’ उनले भने ‘नागरिकलाई स्वच्छ रुपमा भोट हाल्न दिइएन, एकै जनाले १०÷१२ पटक भोट हाले ।’ धाँदली भएको बारे थप प्रमाण जुटाएर सार्वजनीक गर्ने उनले बताए ।
गोरखा १ मा एमालेका तर्फबाट उम्मेदवार रामशरण बस्नेतले सत्तापक्षबाट निर्वाचनमा अवान्छित गतिविधी भएको बताए । एकलौटी रुपमा केही ठाउँमा गठबन्धनले कब्जा गरेको उनको आरोप छ । ‘ज्यादती पूर्ण निर्वाचन भयो’ उनले भने ‘जसरीपनि परिणाम ल्याउने गरी संविधान र निर्वाचन आचारसंहिता बिपरित चुनाव भयो ।’
गोरखामा मत गणना सुरु भएको छैन । उत्तरी गोरखाको मत पेटिका हेलिकप्टरबाट ल्याउँदा केही ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गोरखा २ मा मत गणना गर्ने ठाउँ तयार नभएकाले ढिला भएको र केहीबेरमा गणना गर्ने गरी सर्वदलीय बैठक डाकिएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईले बताए ।
एमाले सहितका केही दलले पुन मतदानको माग गरिरहेकाले मतगणना सुरु हुन केही समय लाग्ने संभावना छ ।




