
गोरखा १ को २२ केन्द्रको मतपेटिका हेलिकप्टरमा ल्याईदैँ
गोरखा क्षेत्र नम्बर १ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन तयारी गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
‘हेलिकप्टर तयारी अवस्थामा छ, गोरखामा बाक्लो हुस्सुदेखिएकाले केही समय लागेको हो’ प्रजिअ आचार्यले भने । केहीसमयमै हेलिकप्टर आउने र दिउँसो सम्म सबै मतपेटिका आईपुग्ने उनले बताए ।
काठमाण्डौँबाट हेलिकप्टर ठिगुरेस्वाँरा स्थित नेपाली सेनाको ब्यारेक छेउमा ल्याण्ड हुनेछ । त्यहाँबाट दलका प्रतिनिधि र उम्मेदवारका प्रतिनिधिको रोहवरमा हेलिकप्टर मतपेटिका लिन चुमनुब्री जानेछ । दुई पटकमा सबै मत पेटिका सदरमुकाम ल्याईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अन्य केन्द्र र गोरखा २ को सबै मत पेटिका भने सदरमुकाम आईसकेको प्रजिअ आचार्यले बताए ।




