| सोमवार, कार्तिक २३, २०८३

गोरखा २ को सोमवारबाट गणना गर्ने तयारी १ को अन्यौल

गोरखा क्षेत्र नम्बर २ को मत गणना सोमबार बिहानबाट गर्ने योजना निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

मतदान सकिएर अहिले मतपेटिका ल्याउने क्रम चलिरहेको र आईतवार राती सम्मत पेटिका ल्याउन समय लाग्ने भएकाले सोमबारबाट गणना सुरु गर्ने योजना रहेको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए ।


उम्मेदवार र दलका प्रतिनिधि सहितको बैठकपछि गणनाबारे थप निर्णय लिईने उनले बताए ।


गोरखा १ को भने मत गणनाको विषय अन्यौल छ । चुमनुब्रीबाहेकका मतदान केन्द्रकाको मतपेटिका आईतवार रातीसम्म आउने अनुमान गरिएको छ ।

चुमनुब्री गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी गरिए पनि सोमवार कतिबेला हेलिकप्टर आउँछ भन्ने यकिन भएको छैन । निर्वाचन आयोगले दुर्गम केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गर्ने बताएको छ ।

तर गोरखामा कतिबेला हेलिकप्टरबाट मतपेटिका सदरमुकाम आउँछ भन्ने यकिन नभएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । सोमवार नै आउने-नआउने बारे पनि यकिन हुन बाँकी छ । मतपेटिका सदरमुकाम आएलगत्तै गणना थाल्ने मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्