| सोमवार, कार्तिक २३, २०८३

गोरखामा उम्मेदवार र प्रतिनिधि मतदान केन्द्रको पाँच सय मिटर भित्र बस्न नपाउने

आईतवार हुने निर्वाचनमा गोरखामा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिका रुपमा खटिएकाहरु मतदान केन्द्रको पाँच सय मिटर भित्र जान नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीबाट सवारी अनुमती पास नलिएका साधन संचालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।


मतदानपछि छिटो मतपेटिका ढुवानी गर्न चुमनुब्री गाउँपालिकाको लागि निर्वाचन आयोगसँग हेलिकप्टर माग गरिएको छ । हेलिकप्टर आएको खण्डमा मतपेटिका संकलन गर्दा कम्तीमा दुईवटा दलका एक÷एक जना प्रतिनिधिको रोहबरमा गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए ।


मतपेटिका संकलनपछि एक-एक जना प्रतिनिधि तोक्ने र गणना गर्ने, छिटो मतपेटिका ढुवानी गर्न राजनीतिक दलका प्रतिनिधिलेपनि सघाउने, मतपेटिका संकलनपछि सर्वदलीय बैठक गरेर गणना सुरु गर्ने निर्णय बैठकले गरेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए ।


मतगणना सम्पन्न नभएसम्मकालागि मदिरा बिक्री बन्द गर्ने, मतगणनाको सुचना दिन एवं समाचार संकलन गर्न मतगणना स्थल नजिकै सुचना कक्ष संचालन गर्ने, नेपाल रेडक्रस सोसाईटी सँग समन्वय गरी मतदान स्थलमा प्राथमिक उपचारको ब्यवस्था मिलाउने निर्णय पनि भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पालिका मातहत रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्ने, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरुको सेवालाई थप प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्