| सोमवार, कार्तिक २३, २०८३

आवाज उठाउन नछाड्नुको अर्थ

चुनावको मुखैमा काठमाडौँबाट झण्डै एकदर्जन नागरिक समाजका अगुवाहरु गोरखा सदरमुकाम आए । कुनै पनि आधिकारिक संस्थामा नरहेका उनीहरुले गोरखाका पत्रकार तथा नागरिक समाजका अगुवाहरुसित अन्तरक्रिया गरे । सो क्रममा उनीहरुले आवाज उठाउन नछाड्न गोरखाका नागरिक समाजलाई आग्रह गरेका छन् ।

‘एक पटक मात्र ठोकेर काठमा किला गड्दैन । यदि गड्यो भने त्यो कमजोर हुन्छ । पटक पटक ठोकेपछि मात्र काठमा किला गड्छ । कुनै पनि कुरा कार्यान्वयन चरणमा पु¥याउनु छ भने आवाज उठाउन छाड्नु हुँदैन । त्यसैले एकपटक मात्र आवाज उठाउँदा सुनुवाइ भएन भनेर चिन्ता गर्नु हुँदैन ।’ उनीहरुले यसरी गोरखाका नागरिक समाजका अगुवाहरुलाई उत्प्रेरित गरेका थिए ।

प्रसंग थियो, चुनावको । ‘चाहे जुनसुकै पार्टीको किन नहोओस्, चुनावमा राम्रा उम्मेद्वारलाई मतदान गरियो भने आउँदा चुनावहरुमा पार्टी केन्द्रले राम्रा उम्मेद्वारलाई टिकट दिन्छन् त्यसैले हाम्रो भन्दा राम्रो उम्मेद्वार छान्नुस्’ भन्ने सुझाव पनि उनीहरुको थियो ।

कार्यक्रममा धेरै महत्वपूर्ण आवाज उठेका थिए ।
‘२०६२÷०६३ को जनआन्दोलनमा त्यतिबेलासम्म जनउभार उठेन, जतिबेला नागरिक समाजका अगुवाले आन्दोलनको आव्हान गरेनन् । राजनीतिक दलले आन्दोलनको आह्वान र अगुवाइ गरिदिन नागरिक समाजलाई अनुरोध गरे । उनीहरुले आन्दोलनको आव्हान र अगुवाइ गरेपछि आन्दोलनको ज्वारभाटा आयो ।

आन्दोलन सफल पनि भयो । तर बिडम्बना भन्नुपर्छ, त्यसपछि नागरिक समाजका अगुवा नै राजनीतिक पार्टीको झोला बोक्न थाले । नागरिक समाजका फोरमहरु पार्टीको भातृसंस्था जस्ता बने । त्यसपछि अहिले कुनै नागरिक समाज शक्तिशाली रहेनन् । उनीहरुले बोलेका कुनै पनि कुरा हावामा उड्न थाले’, रमेश अधिकारीले ज्यादै मार्मिक कुरा गरे ।

निश्कर्षमा काठमाडौँबाट आएका नागरिक समाजका अगुवाहरुले पुनः, तत्काल सुनुवाइ नभए पनि आवाज उठाउन नछाडेमा ढिलो वा छिटो नागरिकको आवाज राज्यको वाग्डोर चलाउनेले सुन्न बाध्य हुने सन्देश दिए ।

प्रतिक्रिया दिनुहोस्