| सोमवार, कार्तिक २३, २०८३

धार्चेमा स्वास्थ्य शिक्षाको खाँचो

अहिले पनि प्रथाजनित उपचार पद्धतिमै अल्झिएर कतिपयले जीवन गुमाएका छन् अथवा जीवनभर रोगी भएर कष्टकर जीवन बिताएका छन् । गाउँबस्ती वा सदरमुकामहरुको त के कुरा राजधानीमै कतिपय कुनाकानीमा अहिले पनि ढ्याङ्ग्रो बज्छन् ।

धामी, झाँक्रीले औषधीमुलो गर्छन् । प्रथाजनित सबै उपचार पद्धति नराम्रा हुँदैनन् । आयुर्वेदिक, आम्जी पद्धति, अकुपञ्चर पद्धति व्यवहारिकै छ । मनोबल बढाउने हिसाबले धामीझाँक्री प्रथा पनि नराम्रो त होइन, तर धामीझाँक्रीमै भर परेर बिरामी सिकिस्त हुने चलन राम्रो होइन ।

विशेषगरी स्वास्थ्य शिक्षाबाट टाढा रहेका गाउँबस्तीमा बिरामीमाथि कसैको आँखा नलागोस् भनेर, वा कुनै भूतप्रेतले नसताओस भनेर पहिले झारफुक गर्ने अनि मात्र मेडिकल औषधी उपचार पद्धति अपनाउने गर्छन् । यत्ति हकमा ठिक छ । आफ्नो मौलिक संस्कृतिलाई समाप्त किन गर्नु छर । तर यत्तिमै भर परेर स्वास्थ्य अबस्था नाजुक बनाएर बस्नु भने गल्ती हुनेछ । अनि कालो बोका वा कालो कुखुरा काटेर अनावश्यक खर्च बढाउनु गल्ती हुनेछ ।

त्यसैले अहिले जनस्वास्थ्य कार्यालयले धामीझाँक्रीलाई तालिम दिने गरेको छ, ताकि, धामी, झाँक्रीले आफूले हेरेको बिरामीले समयमै मेडिकल औषधी उपचार पद्धति पनि अपनाओस् । सहरबाट गएका सुकिलामुकिला स्वास्थ्यकर्मीले भनेका कुरा गाउँठाउँका मान्छेले पूरापुर विश्वास नगर्न सक्छन् । गाउँठाउँकै धामी,झाँक्रीले भनेका कुरा भने पत्याउन सक्छन् । यदि बिरामी भएर झाँक्रीको संपर्कमा पुगेका बिरामीलाई प्रारम्भिक फुकफाक गरेर यथासक्य छिटो अस्पताल लैजान बिरामीका अभिभावकलाई सम्झाइबुझाइ गरोस् ।

धामी, झाँक्रीलाई स्वास्थ्य शिक्षाको तालिम दिने काम अत्यन्तै प्रभावकारी छ । त्यसैले अहिले सबै पालिकाका दुर्गमका पालिकाहरु यस्तो गर्छन् । धामीझाँक्रीलाई मात्र होइन, जनस्वास्थ्य कार्यालयले ग्रामीण तहमा विश्वास जितेका वुद्धिजीवि, पार्टीका नेता, कार्यकर्ता, सामाजिक संघसंस्थामा काम गर्नेहरुलाई पनि स्वास्थ्यसम्बन्धी शिक्षा दिनुपर्ने छ, ताकि कसैले समयमा स्वास्थ्य सेवा नपाएर जीवन गुमाउनु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्