
जब आँखाको पट्टि खुल्यो, उनी छमछमी नाचिन् (फोटो फिचर)
केशव गुरुङ :
कात्तिकको २१ गते सोमबार बिहानको समय प्राय अरुहरुको सामान्य रुपमा वित्दै थियो । तर त्यही समय ७९ बर्षकी टाउके कुमालका लागि जीवनकै सबैभन्दा खुशीको क्षण बनिरहेको थियो । त्यो रमाइलो क्षण उनी आफै गीत गाएर छमछमी नाचेर मनाउँदै थिइन् ।
उनी यतिविधि खुशी हुनुमा उनका लागि सबैभन्दा उत्कृष्ठ कारण थियो । थियो के भने तीन महिना बन्द भएका उनका दुवै आँखा सोमबार बिहान एकाएक देख्ने भएका थिए ।

सिरानचोक ४ चोरकाटेकी कुमालले दुवै आँखा बन्द हुने गरी भएको मोतियाविन्दू हटाउन आइतबार अप्रेशन गराएकी थिइन् । गोरखा लायन्स आँखा सेवा केन्द्रमा गरिएको अप्रेशन सफल भएको थियो । डाक्टरसावले विस्तारैविस्तारै पट्टि खोलेपछि उनले झिलिमिली संसार देखेका थिए ।
उनी भदौ महिनादेखि आँखा नदेख्ने भएकी हुन् । मोतियाविन्दुका कारण बिगत तीन महिनादेखि दुवै आँखा नदेख्दा उनलाई संसार मात्रै होइन, जिन्दगी नै अन्धकार भएको थियो । गाउँघरमा हिडडुल गर्न, परिवारलाई घरको काम सघाउन र आफुलाई दिसापिसाब गर्न समेत निकै समस्या भोग्नु परेको थियो । अहिले दुवै आँखा देख्ने भएपछि अत्यन्तै खुसी लागेर नाचेको उनी बताउँछिन् ।

अस्पतालमा मंगलबार विहान आँखाको पट्टी खुलाए लगत्तै उनी खुसी हुदै सबैका माझ आफै गीत गाउदै छमछमी नाच्न थालिन् । उमेरले बुढ्यौली लागेपनि उनी घरमा बाख्रालाई खासपात हाल्न र कुखुराहरुलाई दाना दिने लगायतका काम गर्दै आएकी थिइन् । औषधी र चस्मा लगाएर मात्र आँखा निको नहुने डाक्टरले बताएपछि दुवै आँखाको अप्रेशन गरिएको उनका जेठा छोरा नानीबाबु कुमालले बताए ।

त्यस्तै, गोरखा नगरपालिका १२ स्थित दश किलोका ७९ वर्षीय पातली कुमालको अनुहारमा पनि खुसी छाएको थियो । उनी विगत तीन वर्ष देखि नै दुवै आँखा नदेख्ने भएपछि अन्धकारमा बस्न बाध्य थिइन् । आँखा नदेख्दा घरमा कतै हिडडुल गर्न, कतै जान र आउन समस्या भएको थियो । तर अव दुवै आँखा देख्ने भएपछि धेरै सहज भएको उनी बताउछिन्् । उमेरले उनी बुढौली लागेपनि शरीरले सकेसम्म काम गर्दै आएकी छिन् ।

उनीहरु जस्तै गोरखा लायन्स आँखा सेवा केन्द्रले हजारौँको आँखामा ज्योति भर्दै आएको छ । सन् २००४ सालमा स्थापना भएको गोरखा आँखा सेवा केन्द्रले हाल सम्म आठ हजार नौ सय जनाको मोतियाविन्दुको अप्रेशन गरिसकेको छ ।
यहि कार्तिक १९ र २० गते गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखामा भएको शिविरमा ४३ जनाले अप्रेशन गरेका थिए ।

उनीहरुमध्य दुई जनाको दुवै आँखाको अप्रेशन गरिएको गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष योङ कुमार श्रेष्ठले बताए । २४ जना पुरुष र १८ जना महिलाको मोतियाविन्दु अप्रेशन गरिएको उनले जानकारी दिए । शिविरमा ४५ देखि ८७ वर्ष उमेर समूहका व्यक्तिहरुको आँखाको शल्यक्रिया गरिएको उनले बताए ।
यसअघि आँखा सेवा केन्द्रले नारेश्वर, सौरपानी, कोखेआहाले, आरुघाट, आरुपोखरीमा शिविर संचालन गरेको केन्द्रका नेत्र सहायक खुमप्रसाद पराजुलीले बताए । सो शिविरमा मोतिया विन्दुको अप्रेशन गर्नुपर्ने देखिएकाहरुको जिल्ला सदरमुकाममा बोलाई शल्यक्रिया गरिएको उनले बताए ।
हिमालयन आँखा अस्पताल पोखराबाट आएका नेत्र रोग विशेषज्ञ इन्द्रमान महर्जनसहितको चारजनाको टोलीले सेवा केन्द्रमा आएका विरामीहरुको शल्यक्रिया गरेका थिए । उमेर बढेसँगै र आँखामा चोटपटक लाग्दा मोतियाविन्दु हुने गरेको महर्जनले बताए । त्यस्तै गोरखामा मोतिविन्दु, आँखामा मासु पलाउने, फुला पर्ने, निरन्तर आँसु आइरहने लगायतका समस्या देखिएको उनले बताए ।

गोरखा लायन्स आँखा सेवा केन्द्रद्धारा सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरी सेवा संचालन भइरहेका छन् । गत वर्ष फागुन एक गते केन्द्र स्थापना गरेर स्थानीयहरुलाई गाउँपालिकामै आँखा जाँच लगायतका सेवा दिदै आएको गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष योङ कुमार श्रेष्ठले बताए ।
गाउँपालिकामै प्राथमिक आँखा उपचार केन्द्र हुदा स्थानीयहरु आँखा सम्बन्धी समस्या लिएर बजार सम्म धेरै आउनु नपरेको उनले बताए । आँखा मानिसको महत्वपुर्ण अंक भएको र यसको नियमित चेकजाँच गरिरहनु पर्ने भएकाले सबै पालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गर्नुपर्ने उनले बताए । स्थानीय तहले अपनत्व ग्रहण गरेर आँखा सेवा केन्द्रसँग समन्वय गरेका प्राथमिक आँखा उपचार केन्द्र स्थापना गर्न तयार रहेको समेत उनले बताए ।
सबैले आ–आफ्नो विद्यालय, टोल टोलमा र समुदायमा आँखा जाँच सम्बन्धी कार्यक्रमहरु प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने उनले बताए ।
लायन्स क्लव अफ गोरखाद्धारा संचालित गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाको विभिन्न स्थानहरुमा पुगी आँखा जाँच सम्बन्धी शिविरहरु गर्दै आएका छन् । शिविरमा आँखा चेकजाँचको क्रममा देखिएका गम्भीर प्रकृतिका विरामीहरुलाई गोरखा सदरमुकाममा रहेको आँखा सेवा केन्द्रका अप्रेशन गर्ने गरेका छन् । त्यस्तै, अस्पतालमा दैनिक ५० जना भन्दा बढी आँखा सम्बन्धी चेकजाँचका लागि आउने गरेको केन्द्रले जनाएको छ ।




