| सोमवार, कार्तिक २३, २०८३

बैकल्पिक डम्पिङ साइटको खाँचो

गोरखा बजारको फोहरका बिषयमा बेलाबेला समस्या सिर्जना भइरहन्छ । नगरपालिका स्वयंले फोहर व्यवस्थापन गर्दा कर्मचारी अपुगका कारणले वा हेलचेक्र्याइँका कारणले नियमित फोहर उठ्दैनथ्यो र समस्या हुन्थ्यो । कहिले फोहर डम्पिङ गर्ने स्थानका बासिन्दाले विवाद गर्दा समस्या हुन्थ्यो ।

चुस्त ढंगले फोहर व्यवस्थापन गर्छौँ भनेर सदरमुकामका केही युवाहरु मिलेर बनाएको क्लिन गोरखा प्रालिले झण्डै एकबर्षदेखि गोरखा बजारको फोहर व्यवस्थापन गर्न सुरु ग¥यो । उसले फोहर राम्रैसित उठायो । दिनहूँ, उज्यालो हुनुअघि गोरखा बजार सफाचट् भइसक्छ ।ं सडक छेउछाउ उम्रिएका दुवो समेत चिम्टेऔला लगाएर उखेलेर सफा गर्छन् । यो निक्कै प्रसंसनीय काम भएको छ ।

र पनि फेरि बेला बेला समस्या देखा परिरहेको छ । करिब दुई महिनाअघि झरीका बेला डम्पिङ साइटसम्म जाने कच्ची बाटोमा फोहर फाल्ने साधन नै जान सकेन । पहिरो, हिलो आदि कारणले लामै समय समस्या सिर्जना भयो । आंशिक फोहर उठिरह्यो तर फ्याँक्ने समस्या भइरह्यो ।

अहिले सो ठाउँमा बाटो पक्की गर्ने(पिच गर्ने) कार्य सुरु भएको छ । त्यसैले गाडी हिँडाउन मिलेको छैन, त्यसैले पाँचदिनसम्म फोहर नउठ्ने सूचना जारी भएको छ ।

अबजस दिने ठाउँ छैन, फोहर नउठ्नुको कारण मनासिब छ । तर सँधै कुनै न कुनै मनासिब कारण देखाउँदै फोहर नउठ्ने हो भने बजारबासी असन्तुष्ट हुनेछन् । उनीहरुले त फोहर उठाउने कम्पनीलाई पैसा तिर्छन् । ती देखा परेका कारणलाई वैकल्पिक उपायद्वारा समाधान गरेर भए पनि फोहर त उठ्नुपर्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण समाधानको उपाय भनेको नै गाह्रो अप्ठ्यारो पर्दा प्रयोग गर्ने वैकल्पिक डम्पिङसाइट हो ।

जब एउटा डम्पिङ साइटमा विविध कारणले समस्या पैदा हुन्छ, तब अर्को प्रयोग गर्ने गरी वैकल्पिक डम्पिङ साइट बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्