
मत खस्ने दर घट्दै गयो
बिगतमा भन्दा अहिले राजनीतिक चेतनाको वृद्धि भइरहेको छ । अरु कुराको विकास धिमा गतिमा भए पनि राजनीतिक चेतको विकास तीब्र गतिमा भइरहेको छ । सूचना सञ्चार प्रविधिको पहुँचमा भएको विकासले अहिलेका नागरिक राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रिय राजनीतिक अभ्यासमा समेत जानकारी राख्दछन् ।
यसले केही सकारात्मक र धेरै नकारात्मक तरंग पैदा गरेको छ । विश्व परिवेशनलाई नियालेका नेपालीहरुले विश्वका विभिन्न मुलुकको विकासको गति र नेपालको विकासको गति तुलना गर्दछन् अनि त्यसबाट वितृष्णा पैदा हुन्छ । नेपाली नेताले केही काम गर्न सकेनन् भन्ने भाव संचार हुन्छ ।
कतिपय नेताहरुको सकारात्मक भन्दा नकारात्मक गतिविधिको पनि प्रचार प्रसार भइरहेको हुन्छ । उनीहरुको दुष्कार्यबाट वाक्क भएर सर्वसाधारणहरु सबै नेता र समग्रमा नेपाली राजनीतिलाई नै ललकार्न थाल्छन् । यसको असर निर्वाचनमा पर्न जान्छ ।
नयाँ परिवर्तन केही गर्न नसक्ने, सँधै राज्य सत्ताको वरिपरि मात्र घुमिरहन चाहने यिनै नेतालाई जिताउन किन मतदान गर्न जाने ? भन्ने धेरैमा परेको छ । यसको परिणामस्वरुप मत खस्ने दर हरेक निर्वाचनमा घटिरहेको छ ।
२०७४ सालको निर्वाचनमा क्षेत्र नं. १ मा ९८ हजार ६२२ जना मतदाता रहेकामा जम्मा ६३ हजार ६९४ मत मात्र खसेको थियो । बाँकी ३५ हजार मतदाता भोट हाल्नै गएनन् । त्यस्तै क्षेत्र नं. २ मा ९० हजार ८२६ जना मतदाता रहेकामा जम्मा ६० हजार ११५ मत मात्र खस्यो । बाँकी ३० हजार ७११ मतदाता भोट हाल्नै गएनन् ।
मतदान नगर्ने यो संख्या धेरै ठूलो हो । उनीहरुलाई मतदानमा सहभागी गराउन सबै राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक अगुवा तथा सरकारी संयन्त्रले पनि पहल गर्नुपर्छ । राज्यको यति धेरै खर्चमा निर्वाचन भइरहेको छ, तर नागरिक मतदानमै सहभागी हुदैनन् भने त्यसको के औचित्य ? तसर्थ मत खस्ने दर बढाउन जरुरी छ ।




