| सोमवार, कार्तिक २३, २०८३

रामशाहघाट क्षेत्रमा पर्यटन विकास गरौँ

गोरखाको रामशाहघाट क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय स्तरमा पहल गरिएको छ । स्थानीय स्तरमा गठित दरौँदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिले यहाँ पर्यटन विकास गर्न पूर्वाधार निर्माणको थालनी गरेको छ ।
सो ठाउँको प्रारम्भिक प्रचार गर्ने उद्देश्यले आउँदो ठूलो एकादशी(हरिवोधनी एकादशी)का दिनमा समितिले विशेष कार्यक्रम गर्ने समेत जनाएको छ । परापूर्व कालदेखि नै यहाँ ओमकारेश्वर महादेव मन्दिर थियो ।

समितिले सो मन्दिरको जीर्णोद्धार गरेको छ । अनेकौँ थरी फूलका विरुवा तथा अन्य वृक्षारोपण गरी समितिले वगैँचा निर्माण गरेको छ, पार्क निर्माण गरेको छ ।

यहाँ परापूर्व कालदेखि नै फूलकोडोली लाने चलन थियो । विविध कारणले सो परम्परा रोकिएको पनि थियो । समितिले यसबर्ष फूलको डोली ल्याउने, फूल तार्ने तथा विभिन्न कार्यक्रमहरु गरी एकादशी जात्रा लगाउने तयारी गरेको छ ।
पर्यटन विकास गर्ने रहर गरेर, भाषण गरेर मात्र हुँदैन । पर्यटक आउने, अवलोकन भ्रमण गर्ने खालको पूर्वाधार निर्माण पनि गर्नुपर्छ । साथै त्यस्ता स्थलको प्रचार प्रसार पनि गर्नुपर्छ ।

त्यसका लागि समिति भरमग्दुर लागेको छ । त्यसलाई सबैको साथ र सहयोग आवश्यक छ । केहीबर्षअघि समितिले यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अर्थ संकलन गर्न सप्ताह ज्ञान महायज्ञ समेत आयोजना गरेको थियो । सो कार्यक्रमबाट अपेक्षित अर्थ संकलन नभए पछि नगरपालिका कार्यालय पनि केही आर्थिक सहयोग गरेको थियो । सो सहयोगलाई नगरपालिका कार्यालय, प्रदेश सरकार तथा अन्य सहयोगी निकायबाट कार्यक्रम पारी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।

अन्य जिल्लाहरुमा यस्ता धेरै ठाउँको विकास भइरहेका छन् । तर गौरवपूर्ण इतिहास बोकेको गोरखा जिल्लामा पर्यटन विकासका लागि उल्लेखनीय काम खासै भएको छैन । स्थानीय स्तरको पहलमा पालिका र प्रदेश सरकार तथा पर्यटनसंग सम्बन्धित संघसंस्थाले सहयोग गरी पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्