
डाक्टर कुट्नेलाई कडा कारबाही गर्न नागरिक तहबाट पनि माग
गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नागरिक तहबाट पनि माग गरिएको छ । बुधबार अस्पताल टोल विकास सँस्थाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै अस्पतालमा भएको कुटपिटको घटनाका अभियुक्तलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
संस्थाले जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत छविलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरिएको हो ।
सर्वसाधारण गोरखाली जनताले स्वास्थ्य सेवा लिने भरपर्दो संस्थाको रुपमा विकास भैइरहेका बेला गोरखा अस्पतालमा कार्यरत चिकित्सकको कार्यकक्षमै भएको कुटपिट तथा शारीरिक हमलाप्रति टोलबासीको गम्भीर ध्यानाकर्षण भएको समितिका अध्यक्ष खील प्रसाद तिवारीले बताउनुभयो । गोरखा अस्पतालको सेवा सुविधाबाट गोरखाबासीहरुले सकारात्मक अनुभूति गरिरहेको बेला यो घटना हुनु अत्यन्तै दुखत भएको उहाको भनाइ छ ।
स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर बनाउने र अस्पतालमा विरामीको स्वास्थ्य परीक्षणमा बाधा व्यवधान उत्पन्न गर्ने व्यक्तिहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को पहिलो संशोधन अध्यादेश अनुरुप दोशी उपर सख्त कारवाही गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । अस्पताल टोलि विकास समितिले प्रशासन र गोरखा अस्पताल व्यवस्थापन समितिलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
कात्तिक ६ गते गोरखा अस्पतालका ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तर पक्राउ परेका उनीहरुलाई फितलो मुद्दामा कारवाही हुन लागेको भन्दै स्वास्थ्यकर्मी पनि आन्दोलित भएका छन् ।
मंगलवार बिहान उपचार सेवा सुरु गर्नुअघि चिकित्सकहरुले सामुयिक भेला भएर कालोपट्टी बाँधेर मात्रै सेवा आरम्भ गरेका थिए । दोषी माथि कारवाही नहुँदासम्म यो प्रक्रिया जारी रहने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठले जानकारी दिए । फितलो मुद्दाले दोषीको मनोबल बढाउने र निर्दोष चिकित्सकको मनोबल गिराउने काम भएको चिकित्सक संघको तर्क छ ।
चिकित्सक कुटेको अभियोगमा गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारका २८ वर्षका समीर कुवँर र १९ वर्षका अनुप बस्नेत र गोनपा ३ नारेश्वरका २६ वर्षका प्रमोदजंग कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।




