
ढोका थुनेर डाक्टर कुट्नेलाई फितलो कारबाही गर्न खोजेको चिकित्सक संघको आरोप
गत कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्नेलाई प्रहरी प्रशासनले फितलो कारबाही गर्न खोजेको आरोप लगाएका छन् । नेपाल चिकित्सक संघका उपाध्यक्ष अनिल बिक्रम कार्की नेतृत्वको टोली गोरखामा आई यस्तो आरोप लगाएका हुन् ।
चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध फितलो कारबाही हुने दफाको मुद्दा दर्ता भएको कार्कीले आरोप लगाए । ‘अदालतमा दर्ता गर्ने मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी प्रहरीले फितलो कारबाही गर्न खोज्यो’, कार्कीले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को दफा ३ को नंबर ‘ग’मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोटपटक पु¥याउन नपाउने व्यवस्था छ । यदि त्यसो गरेमा तीनबर्षसम्म कैद वा तीनलाखसम्म जरिबाना वा दुवै सजायँ हुने व्यवबस्था छ तर प्रहरीले नंबर (च) अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको छ । त्यसमा कसुर गर्नेलाई एकबर्षसम्म कैद वा एकलाख जरिबाना वा दुवै सजायँ हुन सक्ने ब्यबस्था छ ।’ फितलो मुद्दाले दोषीको मनोबल बढाउने र निर्दोष चिकित्सकको मनोबल गिराउने काम भएको चिकित्सक संघको तर्क छ ।
यस घटनालाई अविनाश पराजुली कुटिएको मात्र नभै अस्पतालमाथि आक्रमण गरिएको ठान्नुपर्ने उनको तर्क छ । ‘छ गते घटना भएको छ, एकहप्तापछि मात्र घटनास्थलको मुचुल्का तयार गरिएको छ । पिडितको घाउजाँच गरिएको छैन’, चिकित्सक संघका उपाध्यक्ष कार्कीले भने, ‘यो कहाँसम्मको लापार्बाही हो ? न्याय नपाए गोरखा जानू भन्ने चलन थियो, तर गोरखाकै डाक्टर अन्यायमा परेका छन् ।’ भवन मात्र स्तरीय भएर नहुने, सेवा दिने चिकित्सकले उच्च मनोबलले सेवा दिन सक्नुपर्ने भन्दै उनले त्यसको वातावरण अस्पताल विकास समितिले बनाउनु पर्ने बताए ।
तर जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने अस्पताल प्रशासनबाट आएको जाहेरीअनुसार मुद्दा पेश गरेको बताउँछन् ।
पछिल्लो समय गोरखा अस्पतालको सेवा प्रवाह सुदृढ भएकाले सेवा लिने बिरामीको संख्या बढिरहेको छ । चिकित्सकमाथि कुटपिटको घटनाले अस्पतालको स्थिति बिग्रिन सक्ने मेडिकल सुपरीटेण्डेण्ट हरिकुमार श्रेष्ठ चिन्ता व्यक्त गर्छन् ।
गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षका समीर कुवँर, सोही ठाउँका १९ वर्षका अनुप बस्नेत र गोनपा ३ का २६ वर्षका प्रमोदजंग कुवँरले गत कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटी गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गरी भागेका थिए ।
यो पनि पढ्नहोस्




