| आइतवार, कार्तिक २२, २०८३

pahiro

मोटरबाटो खनेपछि तीन गाउँमा पहिरो

दरौँदी ः विकासका लागि निर्माण गरिएको मोटरबाटोले पहिरो निम्त्याएपछि गोरखाका तीन गाउँका बासिन्दा जोखिममा बस्न बाध्य भएका छन् । केहीदिनदेखि निरन्तर पानी पर्न थालेपछि हालै मोटरबाटो निर्माण गरिएको धार्चे गाउँपालिका ५ को लप्सीबोट, वडा नं. ७ को खानीबेशी र लापुगाउँका बासिन्दाले पहिरोको जोखिम बढेको जनाएका छन् ।

भूकम्पपछि हालै निर्माण गरिएको घर पनि पहिरोको जोखिममा परेको स्थानीयबासीको भनाइ छ । ‘गाउँमाथि पनि, गाउँमुनि पनि मोटरबाटो मोटरबाटो बनाएका छन्’, लप्सीबोटका रामप्रसाद गुरुङले भने, ‘अहिले पानी पर्न थालेपछि घरमुनि पनि पहिरो गयो, घरमाथिबाट पनि पहिरो आएको छ ।’ गाउँका १० घर जोखिममा परेको उनले बताए । ‘रामबहादुर गुरुङ, सिताराम गुरुङ, आसमान गुरुङ, तिलबहादुर गुरुङ, सुपाल गुरुङ, पूर्णमाया गुरुङ, माहिला गुरुङ, पूर्णबहादुर गुरुङ, सन्तबहादुर गुरुङ र भीमबहादुर गुरुङको घर जोखिममा प¥यो’, उनले भने, ‘रामबहादुरको त गोठ पहिरोले लगिसक्यो ।’

सडक निर्माण गर्नुअघि राम्रोसंग प्राबिधिक अध्ययन नगरेका कारण अहिले गाउँलेले दुख पाएका उनले बताए । गाउँभन्दा करिब पाँच मिटर नजिकै पहिरो आइपुगेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘भिरालो जमिन छ । त्यसमा पनि राम्ररी अध्ययन नगरी रोड बनाइदिए’, उनले भने, ‘पानी पर्न थालेपछि बग्न थालिहाल्यो ।’ प्रहरी आएर रिपोर्ट लिएर गइसकेको उनले बताए ।
नेपाली सेनाले निर्माण गरेको सडकका कारण वडा नं. ७ खानीबेशीका १०÷१२ घर जोखिममा परेको वडा अध्यक्ष सूर्यमान गुरुङले बताए । ‘केही दिनअघिदेखि परेको पानीले खानीबेशीको १०, १२ घर तान्न लागेको छ’, उनले भने, ‘लापुगाउँको पनि कालरात्री स्कूल आसपास पहिरो गएको छ ।’ पहिरोले समस्या परेपनि अहिलेसम्म कुनै सहयोग नपाएको स्थानीयबासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्