
गोरखा अस्पतालमा डाक्टर कुट्नेलाई कारवाहीको माग गर्दै आन्दोलनको घोषणा
गोरखा अस्पतालका डाक्टर अविनाश पराजुलीलाई कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न गोरखा अस्पतालले माग गरेको छ ।
अस्पतालका सम्पूर्ण कर्मचारीहरुले दोषि माथि कानुनी कारवाहीकालागि प्रशासन सँग माग गरेका हुन् । कारवाही नहुँदा सम्म चरणबद्ध रुपमा बिरोधमा कार्यक्रम ल्याउने घोषणा गरिएको छ ।
अस्पतालका कर्मचारीहरुले जारी गरेको बिज्ञप्तीमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सुरक्षाको प्रत्याभुति दिलाउन समेत माग गरिएको छ ।
आईतवार दिउँसो करिब साँढेचार बजे थाईराईडको रिपोर्ट देखाउन गएकी एक महिलाको रिपोर्ट विषयलाई लिएर तीन जना युवाहरुले कार्यकर्तामा ढोका लगाएर चिकित्सकलाई कुटपिट गरेको अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।
‘सेवाकालागि खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा असुरक्षित महशुस गरेका छौँ’ बिज्ञप्तीमा भनिएको छ ‘प्रदेशकै एउटा नमुना अस्पताल बनाउन लागि परेका हामी सबै कर्मचारीको मनोबल गिरेको छ ।’
अस्पताल ब्यवस्थापन समितिले पनि कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरीमा उजुरी दिएको छ । घटनामा संलग्नहरुको पहिचान भईसकेको र खोजी तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।





