| सोमवार, कार्तिक २३, २०८३

चकलेट चटाउने होइन, व्यवहारिक होओस् घोषणा पत्र

विवेकशील साझा पार्टीका काठमाडौँका एक उम्मेद्वारले आफ्नो घोषणा पत्रमा आफ्नो निर्वाचन क्षेत्रका मतदाता सबैको सुगर, प्रेसर नियमित चेकजाँच गर्ने उल्लेख गरेका छन् । देख्दा सानो लाग्ने तर कार्यान्वयन गर्न सकिने र जनमानसमा अत्यन्त प्रभावकारी रहेको यो कार्यक्रमको सर्वत्र प्रसंसा भएको छ ।

हावामा महल बनाउने खालका हावादारी घोषणापत्र भन्दा यस्तो घोषणपत्र जनमानसमा प्रसंसित नै हुन्छ । कुनै पार्टीले सगरमाथामा केवलकार बनाउने घोषण पत्र पनि जारी गरेका छन् । यसअघिको चुनावमा चुल्हाचुल्हामा ग्याँसको पाइपलाइनदेखि हावाबाट बिजुलीसम्मका बेतुकका कुरा घोषणापत्रमा उल्लेख थिए ।

अहिले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेद्वारहरुले घोषणा पत्र ल्याउने तयारीमा छन् । कतिपय उम्मेदवारले घोषणपत्र ल्याइसकेका छन् । कुनै उम्मेद्वारले घोषणापत्र ल्याउने तयारी गर्दैछन् ।

आउने त आए, चकलेट चटाउने खालको आए पनि आए, ललीपप खुवाउने आए पनि आए । अब आउनेवाला घोषणा पत्र विश्वास गर्ने खालको आओस् । यो त कार्यान्वयन गर्न सकिन्छ भन्ने खालको आओस् । दुनियाँ हाँस्ने खालको नआओस् ।
असम्भव भन्ने कुनै कुरा हुदैन भनेर घोषणा पत्रमा नेपालमा बुलेट टूेन, पानी जहाजका कुरा लेख्नेहरुको खाँचो छैन । खाँचो छ त, जनस्वास्थ्यलाई कसरी प्रभावकारी बनाउने, गुणस्तरीय, व्यवहारिक र व्यवसायिक शिक्षा कसरी जनजनमा पु¥याउने, सहज ढंगले गाँस र बासको ग्यारेण्टी कसरी पु¥याउन सक्ने भन्ने खालको पत्यारिला बुँदाहरु घोषणा पत्रमा हुनुपर्छ ।
सहरको सुविधा गाउँमा पु¥याई, बसाइँसराई न्युनिकरण गर्ने, रोजगारको प्रवन्ध देशभित्रै गरी युवा विदेशिने क्रमलाई कसरी

न्यूनिकरण गर्ने भन्ने खालका कार्यक्रम भए जनमनमा रम्न सक्छ ।
घोषणापत्र व्यहारिक र धरातलीय यथार्थसित मिल्ने खालको भएर मात्र पनि कहाँ पुग्छ र ? त्यसलाई कार्यान्वयन गर्न सक्षम नेता चुन्ने गहर जिम्मेवारी पनि मतदातामा छ ।

प्रतिक्रिया दिनुहोस्