| सोमवार, कार्तिक २३, २०८३

मैयादेवी श्रेष्ठको निधनले गोरखा कांग्रेस शोकमा

कांग्रेस नेतृ तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको उनका धर्म पुत्र टंकनाथ पौडेलले जानकारी दिए ।

उनको निधनले गोरखा कांग्रेस शोकमा रहेको छ । जिल्ला कार्य समितिले श्रद्धान्जली बक्तब्य जारी गर्दै दुखद घडीमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्तिकालागि इश्वरसँग प्रार्थना गरेको छ । श्रेष्ठ २०४८ सालमा भएको निर्वाचनमा गोरखा २ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिईन ।

गत असोज २५ गतेदेखि श्रेष्ठ निमोनियाबाट अस्वस्थ बनेकी थिइन् । दनबिरकै उपनामले चिनिने श्रेष्ठले पार्टी, समाजप्रति गरेको सेवा अनुकरणीय रहेको छ ।

उनले कांग्रेसको केन्द्रिय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान, नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, भरतपुरमा मैयादेवी कन्याकलेज स्थापना, चितवन काँग्रेसकालागि नारायाणगढको मुटुमै भवन दान, गोरखा कांग्रेसलाई भबन निर्माणकालागि २० लाख रुपैयाँ तथा विभिन्न संघ संस्थालाई करोडौँ आर्थिक सहयोग तथा जग्गा दान गरेकी छन् ।

उनले भारतको दार्जलिङ्गदेखि शिक्षक ल्याएर चितवनमा पठन पाठको सुरुवात समेत गरेकी थिईन् । २०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद बनिन् ।

चितवन कांग्रेसले शोकमा आईतवार पार्टीका कुनैपनि चुनावी घरदैलो नगर्ने भएको छ । श्रेष्ठ मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् । श्रेष्ठले १ अर्ब बढी सहयोग गरिसकेकी छन् । उनको जन्म वि स १९८७ असोजको फूलपातीका तनहुँको वन्दिपुरमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्