| आइतवार, कार्तिक २२, २०८३

नौ अर्ब रुपैयाँ कमिशनको आरोप सच्चियो : बाबुराम

बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको भनेर आफूले डेढबर्षअघि लगाएको आरोप सच्चिएको डाक्टर बाबुराम भट्टराईले स्वीकार गरेका छन् ।


गोरखामा शनिबार आयोजित गठबन्धन दलहरुको अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईले सो आरोप सच्चिएको बताएका हुन् ।


‘बूढीगण्डकी योजना राष्ट्रिय गौरवको योजना हो, र त्यो एउटा गेमचेञ्जर योजना हो, त्यसैले त्यसले प्राथमिकता पाउनै पर्छ । नेपाल आफैले बनाउनै पर्छ । तर केही असमझदारीवश हामीले अलिकति बांगोटिंगो बाटो लिन खोज्यौँ । अब त्यो सच्चिएको छ’, कमिशनको आरोपबारे प्रष्टिकरण दिँदै उनले भने, ‘त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो । किनकि नेपाल आफैले बनाउनु पर्ने त्यो बूढीगण्डकी कताकता कसको खेलमा हो, बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचना पाएको थिएँ । त्यसको आधारमा मैले त्यो(नौ अर्ब भ्रष्टाचारको बारेमा) बोलेकै हो । तर त्यो अहिले सच्चिएको छ । म के खुशी व्यक्त गर्न चाहन्छु भने अब बूढीगण्डकी नेपालले बनाउने निर्णय गरेको छ । त्यसै भएको हुनाले बूढीगण्डकी बारे अब हाम्रो विवाद छैन ।’ अब जसरी हुन्छ, बूढीगण्डकी छिटो बनाउने अभिभारा गोरखाबाट निर्वाचित भएपछि प्रचण्डको काँधमा जाने उनले बताए ।


सोही आरोपमा बिषयमा पछिल्ला बक्ता प्रचण्डले आरोप सच्याउन जरुरी रहेको बताएका थिए । ‘बाबुरामजीले बूढीगण्डकी परियोजनाको बारेमा जुन सूचनाको आधारमा आरोप लगाउनु भएको थियो, त्यो सच्चियो भन्नुभएको छ, धन्यवाद’, उनले भने, ‘त्यसलाई हामी आफैले बनाउने निर्णय गरेका छौँ, त्यो अगाडि बढेको छ । तपाईले मलाई बलियो बनाउनु भयो भने त्यो तीब्रगतिमा अघि बढ्छ ।’
क्याप्सन ः अगुवा कार्यकर्ता अभिमुखीकरणमा बोल्दै डाक्टर भट्टराई ।

सोही कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले आफूले २०६४ सालको निर्वाचनमा प्राप्त गरेको ८३ प्रतिशत मतको रेकर्ड ब्रेक गरेर ९० प्रतिशत भन्दा धेरै मत प्राप्त गर्न प्रचण्डलाई चुनौति दिए ।

साथै उनले कांग्रेससितको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको बताए । पुँजीवादी लोकतन्त्र र समाजवादी लोकतन्त्रको फ्युजनले नै नेपालको संवृद्धि सम्भव भएकाले कांग्रेस र कम्युनिष्ट तथा समाजवादीहरुको गठबन्धनको जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्