
हव अस्पतालका दाता साइमन दम्पत्ति गोरखा अस्पताल देख्दा दंग, सहयोगलाई निरन्तरता दिइने
गोरखा अस्पताललाई हव अस्पताल बनाउन सहयोग गर्ने निक फाउण्डेशन इन्टरनेशनलका संस्थापक साइमन दम्पत्ति गोरखा अस्पतालको स्तर सुधार हुँदै गएको देखेर खुशी भएका छन् । अस्पतालको अबस्थाका बारेमा अवलोकन गर्न अमेरिकाबाट बिहिबार बिहान गोरखा आइपुगेका फाउण्डेशनका अध्यक्ष जिम साइमन र उनकी पत्नी म्यारिलिन साइमन अस्पतालको प्रगति सन्तोषजनक रहेको भन्दै खुशी भएका हुन् ।
उनीहरुको स्वागतका लागि अस्पतालमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै साइमन दम्पत्तिले सहयोगको उचित सदुपयोग भएको भन्दै यसलाई निरन्तरता दिने बताएका थिए ।
निक फाउण्डेशनले गोरखा अस्पताललाई हव अस्पताल बनाउनका लागि बार्षिक दुई करोड ४० लाख रुपैयाँ बराबरको सहयोग गर्न यसैबर्षदेखि सुरु गरेको छ । सो रकमबाट अस्पतालले २१ जना कर्मचारी भर्ना गरी उनीहरुलाई तलव भत्ता तथा आवासको व्यवस्था गर्ने छ भने र उपकरण खरिद गर्नेछ ।
अस्पतालको अबस्थाबाट खुशी भएका साइमन दम्पत्तिले यसलाई पाँचबर्षसम्म निरन्तरता दिने जनाएका छन् ।
८४ बर्षीय साइमन दम्पत्ति गोरखा अस्पताल जस्तै सो फाउण्डेशनले सहयोग गरेका अन्य अस्पतालको अनुगमन गर्न बिमान चार्टर गरी काठमाडौँ आएका थिए । बिहिबार दुईवटा हेलिकोप्टर चार्टर गरी गोरखा आइपुगेका हुन् ।
उनीहरुसंग स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिव डाक्टर गुणराज लोहनी, पूर्व स्वास्थ्मन्त्री तथा साइमन इन्स्टिच्यूट नेपालका अध्यक्ष विद्याधर मल्लिक, कार्यकारी निर्देशक डाक्टर अर्चना अमात्य, वरिष्ठ कार्यक्रम संयोजक डाक्टर कासिम शाह पनि गोरखा आएका थिए ।
साइमन दम्पत्ति तथा अन्य अतिथिहरुलाई जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठ, मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा सहयोगीहरु साइमन दम्पत्ति, प्रमुख अतिथि जिसस प्रमुख थापा, मेयर राना, स्वास्थ्य सचिव डाक्टर पोखरेल, इन्स्टिच्यूटकी कार्यकारी निर्देशक डाक्टर अर्चना, मेसु डाक्टर श्रेष्ठलगायतले अस्पताल तथा सहयोग कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
अमेरिकी युवा निक साइमन एकबर्ष लामो नेपाल भ्रमणका क्रममा नेपालसित अत्यन्त्र प्रभावित भएका तर यहाँको स्वास्थ्य अबस्था नाजुक देखेपछि डाक्टर बनेर नेपालमा सेवा गर्नेबारे बुबा आमासित छलफल गरेका थिए । तर अमेरिका फर्कनुअघि इण्डोनेशिया भ्रमण गर्दा सन् २००३ सालमा इण्डोनेशियामै मृत्यू भएको थियो ।
सो अप्रिय दुर्घटनापछि साइमन दम्पत्तिले छोराको सपना साकार पार्न नेपालका दुर्गम गाउँबस्तीमा स्वास्थ्य सुधार सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए । सोही क्रममा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको समन्वयमा गोरखा अस्पताललाई हब अस्पताल बनाउन यसैबर्षदेखि प्रक्रिया अघि बढाएका गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।




