| सोमवार, कार्तिक २३, २०८३

दुर्गम भेगमा चुनाव प्रचार गर्न हेलिकोप्टर उँडाउन माग

सडक सञ्जालले नछोएको गोरखाको दुर्गम भेगमा चुनाव प्रचार प्रसार गर्न हेलिकोप्टर उँडाउन सो क्षेत्रका उम्मेद्वारले माग गरेका छन् ।


गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ र क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र ख का उम्मेद्वार नन्दप्रसाद न्यौपानेले हेलिकोप्टर उडाउन अनुमतिका लागि जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए ।


बजगाईँ र न्यौपाने दुवै जना गठबन्धन(नेपाली कांग्रेस)तर्फका उम्मेद्वार हुन् ।


सो भेगमा गाडी चढेर पुग्न नसकिने, हालैको अविरल बर्षापछिको पहिरोले धेरै ठाउँमा बाटो अवरुद्ध भएको र चुनाव प्रचार गर्ने अवधि थोरै भएकाले हेलिकोप्टर चार्टर गर्न पाउनु पर्ने भन्दै माग गरिएको उम्मेद्वारमध्यका एक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।


हेलिकोप्टर उँडानका लागि अनुमति दिने अधिकार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नभएकाले सो निवेदन निर्वाचन आयोगमा फर्वाड गरेको मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्