
गोरखामा नवौँ राष्ट्रिय वुद्धिचाल प्रतियोगिता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिता बिहिबारबाट सुरु भएको हो ।
गोरखा क्याम्पसको सभाहलमा आयोजना गरिएको प्रतियोगिताको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले गोटी सारेर उद्घाटन गरे ।

गोरखा क्याम्पसमा सुरु भएको सो प्रतियोगितामा ११ टिमका ६६ जना सहभागी रहेका जिल्ला खेलकुद परिषद गोरखाका अध्यक्ष शान्तसिँह बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा सातैवटा प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट तीन÷तीन जना पुरुष र तीन÷तीनजना महिलाका दरले ६६ जना सहभागी भएका उनले बताए ।
बुद्धिचाल प्रतियोगितामा ६ वटा इभेन्ट हुनेछन् । स्वीसलिग सिस्टमबाट हुने खेलमा नौ राउण्ड लिग हुनेछ । क्लासिकल, ब्लिच र ¥यापिड गरी तीन चरणका खेल हुने प्रमुख निर्णायक यासिर खुम्बुले बताए ।
पहिलो चरणमा बिहीबार नौ राउण्ड क्लसिकल प्रतिस्पर्धा भएको छ । खेलमा ९ राउन्डको लिग खेल हुने उनले बताए । त्यसपछि ¥यापिड राउण्ड हुनेछ । र अन्त्यमा ब्लिज राउण्डको प्रतियोगिता गरी विजयीको टुंगो लगाइने निर्णयक खुम्बुले बताए ।
क्लासिकल राउण्ड ९० मिनेट र अतिरिक्त ३० सेकेण्डको हुनेछ । पाँचदिनसम्म क्लासिकल राउण्ड चल्ने छ । त्यस्तै ¥यापिड राउण्ड १५ मिनेट र अतिरिक्त १५ सेकेण्डको हुनेछ । यसका लागि तीन दिन छुट्याइएको छ । र तीन मिनेट दुई सेकेण्डको हुने ब्लिज राउण्डका लागि एक दिन छुट्याइएको निर्णयकले जनाए ।
‘फ्री डेको नियमअनुसार खेल सञ्चालन हुन्छ,’ उनले भने । गोरखा क्याम्पसमा बिहीबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा पुरुषतर्फका तीन विधा र महिलातर्फ पनि तीन विधाका खेल हुनेछन् । छ विभिन्न विधातर्फ विजयीलाई १८ पदक हुनेछन् । छ स्वर्ण, छ रजत र छ कास्य पदकको व्यवस्था गरिएको खुम्बुले जानकारी दिए ।




