| सोमवार, कार्तिक २३, २०८३

मतान्तरमा नयाँ रेकर्ड कायम गर्ने प्रचण्डको दाउ

पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा चिनिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारी दिएपछि चुनावी सरगर्मीको पारो राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चढेको छ ।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित १३ जनाको उम्मेदवारी परेको छ । मुलुककै प्रभावशाली व्यक्तिले चुनाव लड्ने हुँदा यहाँको चुनावप्रति राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ध्यानकेन्द्रित भएको हो ।

गोरखा २ मा गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा सहित पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका पर्छ । यहाँ एक लाख पाँच हजार दुई सय ४० मतदाता छन् ।

२०७४ को निर्वाचनमा यहाँ ७० हजार आठसय २६ मतदाता थिए । ६० हजार एक सय १५ मत खसेको थियो । नेपाली कांग्रेससँगको तालमेलमा तत्कालिन नयाँशक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । भट्टराईले ३१ हजार आठसय सात मत प्राप्त गरे भने बाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले २४ हजार नौ सय ३३ मत पाए ।

दुईवटा प्रदेश क्षेत्र रहेको यहाँ २ ‘क’ मा तत्कालिन नयाँ शक्तिका हरिशरण आचार्यले जितेका थिए भने ‘ख’ मा स्थानीय स्तरमा प्रभावशाली रहेका नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी बिजयी बनेका थिए । आचार्यले १५ हजार तीन सय ४३ मत पाए भने दवाडीले १५ हजार आठ सय ५३ मत ल्याएका थिए । गोरखा १ को संघ र प्रदेशमै तत्कालीन बाम गठबन्धन पराजित भएको थियो । अहिलेको गठबन्धनमा बिजयी र पराजित हुने सँगै रहेकाले सत्तागठबन्धनको मत धेरै देखिन्छ ।

२०७४ मा भन्दा अहिले मतदाता थपिएका छन् । गठबन्धन पनि फरक खालको छ । गोरखा २ मा मूख्य प्रतिस्पर्धी कांग्रेस, माओवादी र नेपाल समाजवादी पार्टी गठबन्धन मा छन् । गत स्थानीय निर्वाचनमा भने सत्ता गठबन्धनका दलहरु बीच गोरखामा–तालमेल भएन । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत र एमालेका उम्मेदवारले पाएको मतान्तर धेरै देखिन्छ ।

सत्ता गठबन्धनका उम्मेदवारले स्थानीय निर्वाचनमा गोरखा २ का पालिकामा करिब ५२ हजार मत पाए । एमालेका उम्मेदवार करिब छ हजार पाँच सय मत पाएको देखिन्छ । छ गुणाभन्दा बढि मत गठबन्धन दलसँग छ ।

स्थानीय चुनावमा उम्मेदवारी नदिएका दल र केही स्वतन्त्र उम्मेदवारले पनि मतान्तर फरक पार्न सक्ने देखिन्छ ।
गोरखा २ मा एमालेले मत बढाउने र जित्ने दावी उम्मेदवार अब्दुस मियाँको छ । माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जित्नका लागि मात्रै गोरखा नआएको बताउँछन् ।

‘जित्न अन्यत्र पनि जित्नुहुन्छ’ उनले भने ‘एउटै क्षेत्रबाट पटक–पटक निर्वाचन नलड्ने उहाँको चाहना अनुसार आउनुभएको हो, जित निश्चित छ ।’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले माओवादी अध्यक्ष दाहालको जित सुनिश्चित भईसककेको बताएका छन् । उम्मेदवारी दर्ता गर्न दाहालसँगै आएका उनले प्रचण्डले चुनाव जितिसकेको बताएका थिए ।

आफ्नो निर्वाचन क्षेत्र दाहाललाई सुम्पिन पाउँदा आफु खुसी भएको बताए । माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरुपनि दाहाललाई गोरखामा कुनै चुनौती नरहेको बताउँछन् । दाहालको जितसँग भन्दापनि धेरै मतान्तरका बारेमा जिल्लाका नेता लागिपरेका छन् ।
‘जित त छँदैछ, देशकै सर्वाधिक मतान्तरले विजयी गराउने गरी तयारीमा लागेका छौँ, यो गठबन्धनको, हामी सबै यहाँका जनताको कर्तब्य पनि हो’ माओवादी केन्द्रका जिल्ला संयोजक बिष्णु भट्टले भने ।

देशकै नेतृत्व गर्न सक्षम ब्यक्ति गोरखा २ बाट उम्मेदवार रहेको बताउँदै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पनि चासोको विषय भएको र जितमा कुनै द्विविधा नभएको बताउँदै भने ‘चुनाव हो हामीले आफ्नो तर्फबाट तयारी गरिरहेका छौँ ।

’ दाहालसँगै गोरखा २ मा प्रतिनिधि सभाकालागि नेकपा एमालेको तर्फबाट सिरानचोक ३ का अब्दुस मियाँले उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस बिपीबाट टिकादत्त पोखरेल, राप्रपाबाट सुशील पन्त, नेकपा मालेबाट नारायणबाबु आचार्य पनि उम्मेदवार छन् ।

हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोलनेशनल अर्गनाईजेशनका सोमबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बारपाक सुलिकोट ८ का बिनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटा, काठमाण्डौँ महानगरपालिका ३२ कि डाक्टर माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
भट्ट नेपाली कांग्रेस निकट हुन् ।

प्रतिक्रिया दिनुहोस्