
लायन्स क्लवको क्याविनेट बैठक २८ र २९ गते गोरखामा हुने
लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ जे को दोस्रो क्याविनेट बैठक असोज २८ र २९ गते गोरखामा हुने भएको छ । उक्त बैठकमा सहभागी हुन छ सय भन्दाबढि लायन्स सदस्यहरु गोरखा आउने कार्यक्रम निर्देशक शित्तलकाजी मास्केले बताए ।
गोरखाको प्रचार प्रसार र आन्तरिक पर्यटन प्रर्वद्धनका लागि क्याबिनेट बैठकले मद्धत पुग्ने अपेक्षा आयोजना गोरखा स्थित लायन्स क्लवहरुको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ आरुघाट, गोरखा कालिका, गोरखासिटी, गोरखा तारानगरको संयुक्त आयोजनामा गोरखामा बैठक हुन लागेको हो ।
बैठकका लागि बिभिन्न १७ वटा उप समिति गठन गरिएको दोस्रो क्याबिनेट बैठक तयारी तथा ब्यवस्थापन समितिका सचिव लक्ष्मणबाबु आचार्यले बताए । बैठक सम्पन्न गर्न २८ लाख ११ हजार लाग्ने अनुमान गरिएको छ । सहभागिहरुको शुल्कबाट १२ लाख संकलन हुनेछ । आयोजक पाँचवटा क्लवले ५०÷५० हजार संकलन गरिसकेका छन् । ‘स्थानीय तह, बिभिन्न संघ संस्था र क्लवले प्रकाशन गर्न लागेको बुलेटिनबाट थप रकम संकलन गर्ने योजना छ’ निर्देशक मास्केले भने । सहभागी रजिष्टेशनबाट प्रति सदस्य एक हजार पाँच सय र क्यबिनेट पदाधिकारीलाई दुई हजार पाँच सय तोकिएको छ ।
२८ गते पहिलो दिन प्रि क्याबिनेट बैठक होटल मिराकलमा हुनेछ भने २९ गते को क्याबिनेट बैठक गोरखा संग्रहालय परिसरमा हुनेछ । उक्त बैठकको उद्घाटन नगरप्रमुख कृष्णबहादुर राना मगरले गर्ने क्लवले मंगलवार पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
सहभागीहरुको स्वागतका लागि धिमे बाजा, पञ्चैबाजा बजाईनेछ । तयारी स्वरुप स्टेज निर्माण, खानाको स्टल निर्माण लगायतको काम सुरु भईसकेको छ । गोरखा अस्पतालसँगको सहकार्यमा प्राथमिक उपचार हेल्प डेक्स संचालन हुने दोस्रो क्याबिनेट बैठक तयारी तथा ब्यवस्थापन समितिका सचिव लक्ष्मणबाबु आचार्यले बताए ।
लायन्स सदस्यहरुको एउटा ठुलो पर्वको रुपमा क्याबिनेट बैठकलाई लिईन्छ । यसअघि २०१४ मा गोरखामा क्याबिनेट बैठक भएको कार्यक्रम निर्देशन मास्केले बताए । गोरखामा हुने ऐतिहासिक क्याबिनेट बैठकले जिल्लामा मधुमेह उपचार केन्द्र निर्माणको निर्णय गर्ने उनले बताए । क्याबिनेटबाट स्विकृत भएपछि उपचार केन्द्र निर्माणका लागि अन्तराष्ट्रिय लायन्स क्लव मार्फत आर्थिक स्रोत संकलन हुने आयोजक क्लवले जनाएको छ ।
बाग्लुङ, काठमाण्डौँ, पोखरा, नुवाकोट लगायत बिभिन्न ठाउँका एक सय आठ वटा क्लवका लायन्स सदस्यहरु क्याबिनेट बैठकमा सहभागी हुनेछन् ।




