
गोरखाको ग्रामिण भेगबाट दशैँ मानेर फर्कनेलाई सास्ती
गोरखाको ग्रामिण सडक हिलाम्य हुँदा दशैँ मनाएर फर्कनेहरुले सास्ती भोग्नु परेको छ । बिजयादशमीको दिन बुधवारदेखि शनिवार आज सम्म वर्षात भईरहेको छ ।
मंगलवार दिउँसो समान्य घाम लागेपनि बिहान र साँझ वर्षात भएको थियो । लगातारको झरीले दशैँ अघि मर्मत गरिएको गोरखाको ग्रामिण सडक फेरी बिग्रिएको छ ।
मर्मत गरेको सडक, खाल्डा पुरेको माटोमा फेरी हिलो जम्दा यात्रुबाहक सवारी साधन चल्न सकेको छैन । सवारी साधन नचल्दा दशैँ मानेर फर्कने, आफन्तकहाँ टिका थाप्न आउजाउ गर्नेहरु फैदल हिँड्न बाध्य छन् । बारपाक, बोर्लाङ, ताकु लगायत ग्रामिण रुटमा यात्रुबाहक बस चलेको छैन ।
केही रुटमा चालकले जवरजस्ती जोखिम मोलेर सवारी चलाईरहेका छन् । यात्रुबाहक बस नचलेपछि बोलेरो जिप, ट्रक, ट्याक्टर चढेर स्थानीय आउजाउ गरिरहेका छन् । पक्की सडकमा पनि सवारी साधनको चाप बढेको छ । जोखिम मोलेर सदरमुकाम सम्म आएका सर्वसाधारण सदरमुकामबाट गाडी नपाएर कोचिएर यात्रा गर्न बाध्य छन् ।
गोरखाको ग्रामिण भेगका सबै रुटमा वर्षातले सडक बिग्रिँदा गाडी पठाउन नसकिएको दरौँदी यातायात सेवा प्रालीले जनाएको छ । पक्की सडकका रुटमा भने सबै गाडी चलेका छन् । काउन्टर खुलेका छन् ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालीले सबै सबै रुटमा गाडी क्यू थप भएर चलिरहेको जनाएको छ । तर यात्रु गोरखा सदरमुकामको सडक छेउमा उभिएर घण्टौँ गाडी कुर्न बाध्य छन् ।




