
लगातारको झरीले दशैँ प्रभावित: टिका थाप्न हिड्नेहरुलाई सास्ती
टिकाको दिनदेखिको लागतारको झरीले यस वर्षको दशैँ प्रभावित बनेको छ । मंगलवार बिहानदेखि सुरु भएको वर्षात बुधवार बिहान सम्म रोकिएको छैन ।
आफन्त, मान्यजनकहाँ टिका थाप्न हिड्नेहरुले बिजयादशमीको दिनदेखि नै सास्ती भोग्नुपरेको छ । लगातारको वर्षातले छाता ओढेर गन्तब्य तर्फ टिका थाप्न हिड्नेहरु देखिन्थे । तर यस अघिका दशैँमा भन्दा यस पटक झरीका कारण टिका थाप्न हिड्नेहरुको चहलपहल नै कम छ ।
गोरखाको ग्रामिण रुटमा सवारी साधन चल्न सकेको छैन । वर्षातले सडक अवरुद्ध भएको छ । भाडाका यात्रुबाहक सवारी साधन पूर्ण रुपमा चल्न सकेको छैन । निजी गाडी र मोटरसाईकल पनि कम चलेको छ ।
वर्षातले सडक अवरुद्ध हुन सक्ने, निरन्तर वर्षात नरोकिएकाले पक्की सडक भएर यात्रा गर्नेहरु पनि कम छन् । लगातार वर्षातले गोरखा आसपासका नदीको बाहव बढेको छ ।




