
गोरखाबाट फुलपाती हनुमानढोका लगियो
गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ । आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ ।
गोरखकाली मन्दिरका पुजारी, सुसारेहरुले तयार गरेको फूलपाती पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । गोरखा दरवारबाट पुजापाठ गरेर पठाएको फुलपाती अहिले गाडीमा पठाउने गरिँदै आइएको छ । पहिले मानिसले बोकेर लैजाने प्रचलन थियो ।
फूलपाती बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर पठाएको भुषालले बताए । गोरखा दरवारको दशैं घरमा पनि आईतवार साँझ फूलपाती भित्र्याईन्छ ।
नेपाल एकीकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखकाली मन्दिरको दशैंघरबाट हनुमानढोका दरवारमा भित्र्याउने परम्परा सुरु गराएका थिए ।
दरवारस्थित दशैं घरबाट मालश्री धुन र धिमे बाजागाजासहित फुलपाती सहितको डोली निकालिएको थियो ।
फुलपाती बिदाई समारोहमा गोरखा नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, दरवारका पुजारी एवं कर्मचारीहरु, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।




