
यो वर्ष लिगलिगे दौड भएन
हरेक वर्ष बिजयादशमीको अवसरमा हुँदै आएको लिगलिगे दौड यो वर्ष संचालन भएन ।
लिगलिगकोट बिकास अभियान, पालुङटार नगरपालिका लगायत संघ संस्थाको सहयोगमा चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दुरीमा दौड हुँदै आएको थियो ।
दौडेर पहिलो भएकालाई लिगलिगे राजा घोषण सँगै पालुङटार बजार परिक्रमा गराईन्थ्यो ।
नेपाल एकिकरणको बेला यहाँ रहेको बाईसे, चौबिसे राज्य आफ्नै तरिकाले संचालन हुन्थ्यो । ती साना राज्य मध्ये लिगलिगकोट छुट्टै पहिचान बनाउन सफल भएकाले इतिहास जोगाईराख्न हरेक वर्ष यहाँ दौडमार्फत राजा घोषणा गरिन्थ्यो । लिगलिगे दौडमा नेपाली सेनाले पनि सहयोग गर्दै आएको थियो ।
यो वर्ष लिगलिगकोट बिकास अभियानको अधिवेशन ढिला भएकोले तयारी गर्न समस्या भएको अभियानका अध्यक्ष संजिब थापा मगरले बताए । लिगलिगे दौड गर्न बजेट पनि अभाव भएको उनले बताए । बिभिन्न संघ संस्था सँगको सहकार्य गर्न समय अभाव हुँदा लिगलिग दौड गर्न संभव नभएको थापा मगरले बताए ।
कोरोना महामारी बढेका बेला पनि लिगलिगे दौड प्रभावित भएको थियो ।




