
बैंकको सेवा सहज बनाउन गोरखा प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय गोरखाले बैंकिङ सेवा सहज बनाउन जिल्लाका बैंक तथा बित्तिय संस्थालाई आग्रह गरेको छ ।
सर्वसाधारणलाई सजिलो र छिटो हुने गरी सेवा दिन बैंकका प्रबन्धकहरु सँग प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आग्रह गरेका हुन् । सोही क्रममा बैंकको समस्या र सुरक्षाका बारेमा पनि छलफल भएको छ ।
केहीसमय अघि गोरखाको हरमटारीमा कुमारी बैंक लिमिटेडको एटिएम तोडफोड भएपछि एटिएम मेसिनको सुरक्षामा बैंकको भुमिका, स्थानीय प्रशासनको निग्रानी लगायतका बारेमा पनि छलफल भएको प्रजिअ आचार्यले बताए ।
बैंकिङ सुरक्षाकालागि बैंकका प्रबन्ध सहितको बैठकले तीनवटा निर्णय गरेको छ । बैंकका सुरक्षा गार्डको बिवरण उपलब्ध गराउने, सबै बैंकको सिसि क्यामेरा र बिजुली बत्ती नियमित चालु अवस्थामा राख्ने र चाडबाडका बेला सबै बैंकले एटिएम मेसिन चालु अवस्थामा राखी नियमित सेवा दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
बिहिवार गोरखाका अधिकासं बैंकको एटिएम सेवा बन्द हुँदा सर्वसाधारणले दुःख पाएका थिए । सामाजिक सुरक्षा भत्ता पनि बैंकले बितरण गरिरहेको र चाडपर्वको बेला भएकाले अन्य समयमा भन्दा बैंकमा केहीदिन यता भिडभाड बढेको छ । वृद्धवृद्धाहरु घण्टौँ बैंकबाहिर पैसा लिन पर्खिरहेका थिए । गोरखाका कुनैपनि बैंकले सेवाग्राहीलाई बस्ने ठाउँको ब्यवस्था गर्न सकेको छैन ।




