
उत्तरी गोरखामा खाद्यान्न पठाउने बिकल्प खोजौँ
लामो समयदेखि चुमनुब्री गाउँपालिकाको छेकम्पर र चुम्चेतका बासिन्तालाई लोक्पाको पहिरोले दुःख दिएको छ । वर्षातयता पहिरो बगेपछि आउजाउ नै बन्द भयो ।
लोक्पा पहिरो पन्छ्याउन नसक्दा चुम्चेत र छेकम्पारका बासिन्दालाई अहिले चामललगायत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । चुमनुब्री गाउँपालिका ६ को डुयुखोला र सर्दीभीरको बीचमा गत असारदेखि निरन्तर पहिले बगिरहेको छ । गत वर्षपनि पहिरोले त्यहाँको बाटो अवरुद्ध भएको थियो । स्थानीइ केही त जोखिम मोलेर आउजाउ गर्छन ।
आठसय मिटर लामो पहिरोमा मान्छे तथा खच्चड हिड्न सक्ने अवस्था नभएपछि त्यहाँ खाद्यान्न अभाव हुन थालेको छ । सडक सञ्जालले नछोएको सो क्षेत्रमा खाद्यान्न लगायतका सामग्री ढुवानी गर्ने एक मात्र माध्यम खच्चड हो ।
चामल, तेल, चिनी, नुन लगायतका खाद्यान्न अभाव हुन थालेको छ । ती सबै ठाउँमा भोटे लामा समुदायको बसोबास छ । खाद्यान्न ढुवानी गर्न नसक्दा गाउँघरमा धार्मिक तथा सांस्कृतिक कार्यहरु गर्न पनि नसकिएको स्थानीयबासीको गुनासो छ ।
सहरका विद्यालयमा पढ्ने बालबालिकाहरु दशै विदाका बेला गाउँ फर्कन पाएका छैनन् । पहिरोका कारण बाटो अवरुद्ध हुँदा पर्यटकहरु चुमभ्याली जान र पुगेका पर्यटक फर्कन समस्या भएको छ । यो पहिरोको बिकल्प बाटो छैन । जंगलहुँदै दुईदिन घुमेर जाँदा बीचमा बस्ती छैन । जंगलमा बास बस्नु पर्छ । त्यहाँ पनि ठूलो खोला छ । बाटो उस्तै कहालीलाग्दो जोखिम छ ।
गतबर्ष यही ठाउँमा गएको पहिरो तीन महिनासम्म खुल्न नसक्दा खाद्यान्न अभाव टार्न हेलिकोप्टरले खाद्यान्न ढुवानी गरिएको थियो । अहिले दशैँ अगाडी हेलिकप्टरबाट खाद्यान्न लान पहल भएको छैन ।
त्यहाँ तिब्बतबाट खाद्यान्न ढुवानी गरिन्थ्यो, तर तीनबर्ष भयो, तिब्बती नाका पनि खुलेको छैन । तल्लो भेगको बजारबाट सामान ढुवानी गर्न पनि पहिरोले रोकेपछि स्थानीय समस्या परेका छन् ।
त्यहाँ तत्काल खाद्यान्नको समस्या र मानिस आउजाउ गर्नै मुस्किल छ । लोक्प पहिरोको दिर्घकालिन समस्या हल गर्ने गरी काम गर्नुपर्छ । तत्कालकालागि भने मानिसलाई खानबाट बञ्चित हुने अवस्था आउन दिन हुँदैन ।
तत्काल हेलिकप्टरबाट खाद्यान्न ढुवानीको ब्यवस्था मिलाउने र लोक्प पहिरो नियन्त्रण, बाटो मर्मतगर्दै यस्तै समस्या आउँदा प्रयोग गर्ने बैकल्पिक मार्गको खोजी गर्नुपर्छ ।




