
यातायातको ब्यबस्था चुस्त बनाऊ
हिन्दू नेपालीहरुको महानपर्व दशैँ अब नजिकिइसकेको छ । आज तेस्रो दिन सुरु भयो । यतिबेला विद्यालयहरु बन्द भएका छन् । अब सहरमा पढ्न गएकाहरु घर–गाउँ फर्कदैछन् । रोजगारीका क्रममा विदेश गएकाहरु कतिपय फर्किसके, कतिपय फर्कदैछन् । कामका सिलसिलामा स्वदेशकै विभिन्न सहरमा पुगेकाहरु पनि फर्कदैछन् । त्यसैले यतिबेला सडक दुरुस्त हुनु जरुरी छ ।
विशेषगरी यतिबेला राजधानीबाट विभिन्न जिल्ला जाने राजमार्गहरु व्यस्त हुन्छन् । त्यसपछि सदरमुकाम जोड्ने ग्रामीण सडक । चाडबाडका बेला गाउँघर भरिभराउ हुने हुँदा उनीहरु आफन्त, इष्टमित्र, साथीसंगी भेटघाटमा चलायमान हुनेहुँदा पनि सडक व्यस्त रहन्छ ।
त्यतिमात्र होइन, चाडबाडका बेला दैनिक उपभोग्य सामग्री ओसारपोसार गर्ने सवारीसाधनका कारण पनि सडक ब्यस्त रहन्छ ।
दशैँका बेला गाउँलेहरु मिलेर बाटोघाटो सरसफाइ गर्ने गर्छन् । यस्तो बेला गाउँले आ–आफै मिलेर अथवा, वडा कार्यालयले अथवा पालिका कार्यालयले अथवा सडक सम्बन्धी काम गर्ने कार्यालयहरुले सडक मर्मत गर्ने काम गर्नुपर्छ ।
कतिपय जनप्रतिनिधिहरु चलाख हुन्छन् र बजेट भए पनि नभए पनि आवश्यकता र अबस्था हेरेर बिग्रे भत्केका सडक मर्मतसम्भार गर्ने गर्छन् । जनश्रम जुटाएर होओस्, वा बजेट दिने निकायबाट तारतम्य मिलाएर होओस्, आफ्नो गाउँठाउँको पूर्वाधार विकास चुस्त राख्ने गर्छन् । तर केही जनप्रतिनिधिहरु यस्ता हुन्छन्, जो सरकारी जागिर खाए जस्तो गरी औपचारिक कार्यक्रमहरुमा मात्र सहभागी भएर दिन काट्ने गर्छन् । यस्ता जनप्रतिनिधिको गाउँमा करबलले मात्र विकास हुने गर्छ ।
जे होस्, दशैं नजिकिएको छ । यो समयमा हरगाउँघरसम्म पहुँच पुग्ने गरी बर्खाका बेला बिग्रेभत्केका सडक मर्मतसम्भार गरी सहज आवतजावतको वातावरण बनाउनु पर्छ ।
त्यस्तै यतिबेला धेरै सवारी साधनको चाप हुने, असावधानी पूर्वक सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने कारण विभिन्न खालका दुर्घटना हुनसक्लान् । त्यसतर्फ पनि ध्यान दिएर सवारी चेकजाँचमा जोड दिनुपर्छ ।




