
पसलमा अझै पनि छन्, म्याद नाघेका र अखाद्य सामग्री
यसपटकको अनुगमन अल्लि प्रभावकारी देखियो । यसपटकको अनुगमन टोलीले अल्लि धेरै गडबडी फेला पा¥यो । फेला मात्र पारेन, म्याद नाघेको र अखाद्य भेटिएको खाद्य सामग्री नष्ट पनि गरिरहेको छ ।
अनुगमन अझै जारी छ ।
यसपटकको अनुगमन बिगतको तुलनामा अल्लि सघन छ । औपचारिकतामा मात्र सीमित छैन । बरु थोरै पसलहरुको अनुगमन गर्छ, तर सघन रुपमा अनुगमन गर्छ । त्यसैले सदरमुकामस्थित बजारको अनुगमन गर्न थालेको यत्तिका दिन भइसक्यो, अझै अनुगमन जारी छ ।
अनुगमन टोलीले खाद्यान्नका किराना पसलहरुमा सरसफाईमा ध्यान नदिइएको भेटिएकाले सरसफाइमा ध्यान दिन र खाद्यान्न सामान लेबललिङ गरेर मात्र बिक्री वितरण गर्न आग्रह गर्ने गरेको छ ।
शुक्रबारको अनुगमनको क्रममा करिब १० हजार रुपैयाँ बराबरको अखाद्य अबस्थाको खाद्यान्न सामाग्री जफत गरेको थियो भने दर्ता नगरी संचालन गरिरहेका तीन वटा कुटानी पिसानीमिलको तार काटिदिएको छ । त्यस्तै, फेन्सी तथा कुटानी पिसानी पसलहरु अधिकांश दर्ता नगरी संचालनमा रहेको दर्ता गरेको मात्र संचालन गर्न निर्देशन दिएको छ । सोही क्रममा बसपार्कमा दर्ता नगरी संचालन गरिरहेका पीयूष किराना पसललाई बन्द गराएको छ । दर्ता गरेर मात्र संचालन गर्न निर्देशन दिएको छ भने दर्ता नगरी मसला पिस्ने मेसिन राखेर सञ्चालन गर्दै आएका पसलहरुमा मेसिनको उद्योग दर्ता गरेर मात्र संचालन गर्न आग्रह गरेको छ ।
अझै गुणस्तर तथा नापतौल विभागले पनि अनुगमन गरे धेरै प्रभावकारी हुने थियो । बिभागले पत्ता लगाउँछ, पसलका खाद्य सामग्री कुन अबस्थामा छ भनेर । विभागले पत्ता लगाउँछ, बिक्रीका लागि राखिएका सामग्री लेखिए अनुसारको तौलको छ कि छैन भनेर ।
खासमा यो विभाग जिल्लैपिच्छे चाहिने हो । खासमा यो विभागले नियमित रुपमा पसलको अनुगमन गरिरहनु पर्ने हो । किनभने यो बिषय आम उपभोक्ताको स्वास्थ्यसित जोडिएको संवेदनशील विषय हो ।




