
यौन दुव्र्यवहारका घटना छिपाउने, मिलाउने नहोओस्
अहिले दिनानुदिन यौन उत्पीडनका घटना बढिरहेको छ । यौन उत्पीडनको कुनै भूगोल पनि छैन, कुनै क्षेत्र पनि छैन, कुनै जातीय, वर्गीय समुदाय पनि छैन । समाजमा जहाँतहीँ महिलामाथि व्यभिचार राखेर दुव्र्यबहार हुने गरेका छन् । घरभित्रै, कार्यालयभित्र र कार्यक्षेत्रभित्र हुने यौन दुव्र्यवहार ज्यादै डरलाग्दो छ । यौन हिँसाको सिकार बनेकी महिला न यस्ता घटना बाहिर ल्याउन सक्छे, न भित्रभित्रै सहेर निरन्तरता दिन ।
गाउँ टोलमा पनि यस्ता घटना कैयौं छन् । ऐन, कानूनमा यस्ता घटनाका पीडकलाई कडा कारबाहीको व्यवस्था छ । बिगतमा भन्दा जति कडा ऐन कानून बने पनि घटना घट्दै होइन, बढ्दै छ । यस्तो किन हुन्छ ? खोजीको बिषय बनोस् ।
कैयौं कथित ‘यौन दुव्र्यवहार’का घटनामा महिला र पुरुष दुवै बराबरी दोषी हुन्छन् । समझदारीमा बिगतदेखि हुने गरेको यौनक्रीडालाई चित्त बुझ्न छाडेका बेला बलात्कार भनेर पुरुषलाई डाम्ने गरेका घटना पनि छन् । माया प्रेमपछिका यौन रासलीलाई पनि कतिपय महिलाले ‘जबर्जस्ती करणी’ तथा ‘बलात्कार’मा रुपान्तर गरी पुरुषलाई कारबाहीमा फँसाएका समाजमा बग्रेल्ती छन् । रिस साँध्न वा स्वार्थ नमिलेर पुरुषलाई कानूनी कठघरामा पु¥याइसकेपछि फेरि बयान फेरेका घटना पनि नभएका होइनन् ।
महिलाबाटै यस्ता घटना बढिरहेका कारण महिला नै पीडित छन् । किनभने यस्ता मिथ्या घटना धेरै भइरहँदा कही बास्तविक बलात्कारका घटना भएको समाचार आउँदा पनि पक्कै बद्नियत राखेर फँसाउने प्रपञ्च गरेको होला भनेर घटनालाई नजरअन्दाज गर्न थालिएको छ । तसर्थ महिलाकै कारण महिला पीडित बन्ने गरेका छन् ।
महिलाहरु आफ्नो मर्यादामा रहुन् । कथं महिलामाथि यौन दुव्र्यवहार वा बलात्कारका घटना भएमा लुकाउने, छिपाउने, मिलाउने जस्ता कर्तुत नहोउन् ।




