| सोमवार, कार्तिक २३, २०८३

गोरखाको स्याउ गोरखामै खपत हुनु उत्तम

चुमनुब्री गाउँपालिका २ ल्होका एक सफल व्यवसायी छिरिङ धार्के लामाको शव्द सापटी लिनु सान्दर्भिक लाग्यो, ‘हिमालीभेग स्वर्ग हो तर यहाँका देवताहरु दुखी छन् ।’

उत्तरी गोरखाको हिमाली भेग जैविक विविधताको खानी हो । यहाँको हावापानीमा धेरै प्रकारका जडिबुटी तथा फलफूहरु हुन्छन् । तिनीहरुमध्य स्याउ सबैभन्दा सम्भावनाको व्यवसाय हो । ओखर, केशर पनि उत्तिकै सम्भावनाको व्यवसाय हो ।
सम्भावना धेरै कुराका छन्, तर सुरु कसले गर्ने भन्नेमा विभिन्न तर्क, वितर्क, शंका, उपशंका, धक, संकोच छन् । एकजनाले सुरु गरेर त्यस क्रममा उत्पन्न हुने बाधा व्यवधान, चुनौति छिचोलेर सफल बनेपछि अरुले पनि देखासिकी गर्न सुरु गर्छन् ।

उत्तरी गोरखाको स्याउ खेतीमा पनि त्यस्तै भएको छ । स्थानीय जातको स्याउ त गाउँघरमा प्रसस्त छन् । तर उन्नत जानको स्याउ व्यवसायिक रुपमा खेती गर्ने हिम्मत कसैले नगरिरहेको अबस्थामा चुमनुब्री वडा नं. ४ नाम्रुङका व्यवसायी लाक्पाडुण्डुप लामाले पहिलो पटक व्यवसायिक रुपमा उन्नत जानको स्याउ खेती गरे । तीनबर्ष अघि पहिलो पटक लगाइएको स्याउले गतबर्षदेखि उत्पादन दिन सुरु गरेको हो ।
अहिले पनि सो ठाउँमा प्रसस्त स्याउ फल्यो । करिब २२ हजार किलो स्याउ फलेको उनको अनुमान छ । तीमध्य तीन हजार किलो स्याउ हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौँ पु¥याइएको छ ।

विशिष्ट गुणस्तरको सो स्याउ गोरखाबासीलाई चखाउने उद्देश्यले उनले जारी गोरखकाली मेलामा ल्याएका छन् । अहिले गोरखामै फलेको ‘चुमनुब्री’ स्याउको चर्चा चल्न थालेको छ । उनले गोरखा नगरपालिका ११ स्थित एघारकिलो बजारमा रहेको शितभण्डारमा भण्डारण गरिएको छ । आवश्यक स्याउ मात्र मेलामा ल्याएर बिक्री गरिएको छ ।

गोरखाका स्याउ पारखीले गोरखामै फलेको स्याउ उपभोग गरे भने पनि गोरखाका व्यवसायीको व्यवसाय फस्टाउँछ । यद्यपि लामाले उच्च गुणस्तरको ‘चुमनुब्री’ स्याउ भाटभटेनीलाई दिने सम्झौताको तयारी गरेका छन् । विदेश निर्यात गर्ने तयारीमा पनि छन् । उच्चकोटीको चुमनुब्री स्याउ गोरखाकै बजारमा किनबेच भएमा गोरखाको अपनत्व झन बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्