| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारको फोहर व्यवस्थापन समस्याको दीगो समाधान गर

मानव जीवन, मानव समुदाय समस्यै समस्याको गुजुल्टो हो । यही गुजुल्टो फुकाउँदा फुकाउँदै मिनेट, घण्टा, दिन, बर्ष अनि उमेर बित्छ ।
सबै ठाउँमा धेरै खालका समस्या अवश्यमेव छ । गोरखा बजार त्यसको एउटा अंश मात्र हो । यहाँ बिगत दशकौंदेखि सडकको क्षेत्राधिकारको समस्या जकडिएर रहेको छ । बजारका एकाधबाहेक झण्डै सबै घर सडकको क्षेत्राधिकारभित्र छन् । यसबाट उत्पन्न तमाम समस्याले गोरखा बजारबासीलाई गाँजिरहेको छ ।

फोहर व्यवस्थापन सम्बन्धी समस्या विद्यमान छ । खानेपानीको उस्तै समस्या छ । सुन्दा अनौठो लाग्नसक्छ, अहिले पनि गोरखाबजारका बासिन्दा ढुंगेधाराकै पानीले निर्वाह गर्छन् । धुने काममा सानासहरीको पानी प्रयोग गरे पनि पिउने पानी ढुंगेधाराकै हो । एकाधले जारको पानी किनेर प्रयोग गर्ने गरेका छन् ।

फुटपाथ व्यवस्थापनको समस्या छिपाएर कसैको नजरमा छिप्दैन । व्यवस्थापन गर्ने कैयौँ प्रयास लज्जास्पद बिफल भयो । बसपार्क व्यवस्थापनको जटिलता उत्तिकै छ । नौबजेदेखि ११ बजेसम्म बसपार्क पुग्ने हो भने, त्यहाँको बेथिति छताछुल्ला देख्न सकिन्छ । पशु वधशाला व्यवस्थापनका जटिल समस्याहरु छन् । व्यवस्थापन गर्ने उच्चस्तरीय प्रयास थाकेर थन्कियो । फेरि जमर्को गर्ने आँट गरिएको छैन ।

मिटरव्याजको समस्या पनि भुसको आगो झै भित्रभित्रै जलिरहेको छ । माग गर्दा पनि बाहिर देखिने हिम्मत गरेको छैन ।
केलाउँदै जाँदा धेरै यस्ता समस्या छन् । अहिले बजारबासीले टड्कारो भोगिरहेको समस्या फोहरको हो । बजार क्षेत्रको फोहर व्यवस्थापन गर्ने भनी क्लिन गोरखा प्रालि नामक निजी क्षेत्रले नगरपालिकासित जिम्मेवारी ग्रहण ग¥यो ।

तर केही दिनदेखि बजारको फोहर उठ्न सकेको छैन । फोहर डम्पिङ गर्ने ठाउँसम्म जाने बाटो भत्किँदा फोहर उठ्न सकेको छैन । बाटो बनाइदिने जिम्मा नगरपालिकाको हो, तर नगरपालिकाले बाटो बनाउनमा तिब्रता दिन सकेको छैन । जसको प्रत्यक्ष प्रभाव नगरबासीमा छ । तसर्थ यसको तत्काल समाधान जरुरी छ । समाधान क्षणिक होइन, दीर्घकालीन हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्