
गोरखामा डेंगु बढेको बढ्यै
गोरखामा दिन प्रतिदिन डेंगु संक्रमणको दर बढ्दै गएको छ । यो आर्थिक वर्षको साउनदेखि हालसम्म ९५ जनालाई डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
सबैभन्दा डेंगु संक्रमण गोरखा नगरपालिकामा देखिएको स्वास्थ्य कार्यालय गोरखाका नारायणबाबु अर्यालले बताए । नगरपालिकाभित्र हालसम्म ५९ जनामा डेंगु संक्रमण देखिएको छ । त्यस्तै, आरुघाट गाउँपालिकामा २१ जनामा, पालुङटार नगरपालिकामा १३ जनामा र गण्डकी र भीमसेन थापा गाउँपालिकामा एक÷एक जनालाई डेंगु संक्रमण देखिएको उनले जानकारी दिए ।
जिल्लाका शहिदलखन, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, धार्चे र चुमनुब्री गाउँपालिकामा भने डेंगु संक्रमण देखिएको छैन । पालिकामा पर्याप्त परीक्षण गर्ने प्रविधि र किट नभएकाले पनि डेंगु संक्रमणका विरामीहरुको यथार्थ विवरण आइनसकेको उनको भनाइ छ ।
समयमै यसबाट बच्न सावधानका उपायहरु नअपनाए डेंगु संक्रमणको दर अभैm बढ्न सक्ने उनले बताए ।
डेंगु संक्रमणको दर बढेसँगै स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका सबै सरोकारवाला नियकायहरुलाई घर भित्र र बाहिर लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरु ‘खोजौँ र नष्ट गरौँ’ अभियान संचालन गरी डेंगु नियन्त्रणमा सहयोग गर्न समेत अपिल गरेको छ । हाल बढ्दै गएको डेंगु रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण वडा, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, सहकारी, वैकिङ क्षेत्र, टोल सुधार समिति, आमासमूह, युवा क्लव लगायतका सबै सरोकारवाला निकायलाई अभियान संचालन गर्न अनुरोध गरिएको छ ।
सोहि अभियान अनुरुप डेंगु रोग नियन्त्रणका लागि गोरखा नगरपालिका, आरुघाट गाउँपालिका लगायतका स्थानीय तहले अभियान संचालन गरिरहेको छ । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार डेंगु लागेका १ सयमध्ये २० देखि २५ जनामा मात्रै लक्षण देखिन सक्छ । तर, डेंगु संक्रमण हुनेहरू अरूलाई सार्न सक्रिय हुन्छन ।
डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जीउ तथा हात दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने आदि डेंगुका लक्षण हुन । लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने डाक्टरहरु बताउँछन ।
पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्र सुत्ने, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएमा तत्काल मर्मत गर्ने, साँझ र बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा वा पार्कमा जाँदा तथा बालबालिकालाई लैजाँदा सावधानी अपनाउने गर्नुपर्ने चिकित्सकहरू बताउँछन ।




