
मतदानस्थल, मतदानकेन्द्र मतदातामैत्री होओस्
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गोरखामा ७ वटा नयाँ ठाउँमा मतदानस्थल थप हुने भएका छन् । पुराना १७ वटा मतदानस्थललाई अन्यत्र सारिने भएका छन् । केहीदिनअघि बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदान स्थल थप तथा स्थान परिवर्तन गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरेको थियो ।
निर्वाचन आयोगको गत शुक्रबारको बैठकले जिल्लाको सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । यससंगै अब गोरखामा दुईसय २२ वटा मतदानस्थलमा तीनसय १७ मतदानकेन्द्र रहनेछन् ।
थपिएका मतदानस्थलहरुमा चुमनुब्री ३ को फिलिम आधारभूत विद्यालय पाती, चमुनुब्री ३ कै सिदुङ आधारभूत विद्यालय सरस्युँ, धार्चे ३ को दुङ्ला आधारभूत विद्यालयमा नयाँ मतदान स्थल कायम भएको छ । त्यस्तै, धार्चे ७ को गोरखानाथ आधारभूत विद्यालय खानीगाउँ, शहिदलखन २ को बनौती आधारभूत विद्यालय डाँडागाउँ, सहिदलखन २ को बक्रेश्वरी आधारभूत विद्यालय तिउरेभञ्ज्याङ र वारपाक सुलिकोट ३ को स्तुल आधारभूत विद्यालय स्तुलखोलामा नयाँ मतदान स्थल कायम भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
समयको विकासक्रमसंगै मतदानकेन्द्र, मतदानस्थल थपिनु स्वभाविक छ । यससंगै मतदानस्थल तथा मतदानकेन्द्र मतदातामैत्री हुनुपर्छ । कतिपय मतदानस्थल अत्यन्त असुरक्षित पनि पाइन्छन् । गत स्थानीय चुनावमा पनि धेरै ठाउँका मतदानकेन्द्रमा झडप भए, मतपेटिका नष्ट गर्ने दुश्प्रयास पनि भए ।
यस्तो अबस्था फेरि नदोहोरिने गरी मतदानस्थल, मतदानकेन्द्र बन्नुपर्छ । कुनै अमुक पार्टीको मात्र बल पुग्ने ठाउँमा मतदानकेन्द्र बनाउँदा उनका लठैतहरुले कब्जा गर्ने, अरु पार्टीका मतदाताले चुँक्क बोल्न नसक्ने ठाउँमा मतदानस्थल, मतदानकेन्द्र बन्नु हुँदैन ।
चुमनुब्रीका कतिपय मतदानकेन्द्र पुग्न मतदातालाई तीनघण्टा भन्दा धेरै समय लाग्ने पनि थिए । त्यस्ता केन्द्रहरुलाई पुनर्विचार गरी सकेसम्म मतदातामैत्री बनाउनु पर्नेथियो । यसपटक जे भयो, अब आउने चुनावमा पुन, मतदानकेन्द्रको पुनरावलोकन गर्नुपर्छ ।




