| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालमा बिमाबाट पाउने औषधीको लिस्ट टाँस्नुहोस् : स्वास्थ्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले बीमाबाट पाउने औषधीको बिवरण बिरामीलाई जानकारी गराउन गोरखा अस्पताललाई सुझाब दिएकी छिन् । आईतवार अस्पतालले आयोजना गरेको हेमोडायलासिस सेवाको शुभारम्भका क्रममा उनले भनिन्, ‘बिमाबाट पाउने औषधी सुचीकृत गरेर टाँस गर्नुहोस्, अस्पतालमा त्यो देखिएन, यसले बिरामीलाई सहज हुनेछ ।’

गोरखा अस्पतालमा सेवा बिस्तारलाई प्राथमिकता दिँदै जाने मन्त्री अधिकारीले बताईन् । साथै उनले हेमोडायलासिस सेवा सुरु हुँदा यहाँबाट अन्यत्र सेवा लिन जानुपर्ने बाध्यतामा रहेका सर्वसाधारणलाई सहज हुने बताईन् । ‘यन्त्र उपकरण के चाहिन्छ त्यो पनि हामी बुझ्दैछौँ, विषेशज्ञ डाक्टर जिल्ला पठाउने, छात्रवृत्ति करारका डाक्टर थप गर्ने योजना हाम्रो छ’, उनले भनिन् ।

गोरखा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बीच रगत उपलब्ध गराउने बारेमा सम्झौता हुन नसकेकोप्रति मन्त्री अधिकारीले ध्यानाकर्षण गराउँदै भनिन्, ‘प्रदेशभरि निशुल्क रगत उपलब्ध गराउने अभियानमा हामी छौँ, तर यहाँ अहिलेसम्म सम्झौता भएको रहेनछ, एक हप्ताभित्र सम्झौता गर्नुहोला ।’ अझैपनि स्वास्थ्य र शिक्षा स्थानीय सरकारको प्राथमिकतामा नपरेको, केन्द्र र संघको बजेट पनि यस क्षेत्रमा कम बिनियोजन हुँदा समस्या भएको उनले बताईन् ।

कार्यक्रममा प्रदेश सांसद लेखबहादुर थापाले हेमोडायलासिस सेवा सुरु हुँदा मृगौला पिडित बिरामीलाई सहज भएको र आर्थिक भार पनि कम पर्ने बताए । साथै उनले गोरखा अस्पतालको भौतिक संरचना र सेवा बिस्तार सँगै ब्यवस्थित हुने क्रममा अस्पताल रहेको बताए ।
अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगर, गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हरिकुमार श्रेष्ठ, अस्पताल बिकास समितिका सदस्य श्रवणकुमार जोशी लगायतले धारणा राखेका थिए ।

अस्पतालबाट अहिले भएको सेवा निरन्तर प्रदान गर्न विषेशज्ञ चिकित्सक सँधै उपलब्ध गराउनुपर्ने, डाक्टरहरुलाई आबास अभाव भएको, गोरखामा टिकाउन प्रोत्साहनको ब्यवस्था गर्नुपर्ने, अस्पतालमा पार्कीङ अभाव भएको, दरबन्दी सँगै यन्त्र उपकरण थप गर्नुपर्ने लगायतका विषयमा मेडिकल सुपरिटेण्डेन्ट हरिकुमार श्रेष्ठले मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

गोरखा अस्पतालमा केहीदिन अघिदेखि हेमोडायलासिस सेवा सुरु भएको छ । अहिले १८ जना बिरामीले सेवा लिँदै आएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । यसअघि ति बिरामी यो सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता थियो । नयाँ भबनबाट सेवा थालेसँगै गोरखा अस्पतालले सेवा सुविधा क्रमस थप गर्दै लगेको छ । अहिले अस्पतालमा बिरामीको चापपनि बढेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्