| सोमवार, कार्तिक २३, २०८३

डेंगी नियन्त्रण तथा न्यूनिकरणमा तदारुकताको खाँचो

नेपाल जलवायु परिवर्तनको दुस्प्रभावका दृष्टिले १४ नंबरमा, भूकम्पका हिसावले ११ औँ नंबरमा, मौसम परिवर्तनको जोखिमका हिसावले चौथो नंबरमा रहेको छ । ८० प्रतिशत नेपालीहरु प्रकृतिक जोखिमीका हिसाबले सँधै जोखिममा छन् ।

नेपाल किराफट्याङ्ग्राको अनुकूलताका दृष्टिले ‘हेभन’ मानिन्छ । यसले गर्दा पैदा हुने समस्या पनि उत्तिनै छ । यसको उदाहरण स्वरुप अहिले बिगबिगी भइरहेको डेंगीलाई लिन सकिन्छ । बिगत तीनबर्षदेखि कोरोनासित त्रसित हुँदै आएका आम सर्वसाधारण फेरि अहिले डेंगीबाट त्रसित छौँ । चाडबाड नजिँकिएसंगै सर्वसाधारणमा डेंगीले संत्रास जगाएको छ ।

कहिले कोरोना, कहिले डेंगीले समुदायमा आक्रमण गर्न थालेपछि यो सर्वसाधारण माझ चासो र चिन्ताको बिषय बनेको छ । काठमाडौँमा व्याप्त डेंगीबाट कैयौँको ज्यानसमेत गइसकेको छ । गोरखामा पनि यसका कारण फाट्टफुट्ट मृत्यू भएका घटना सुन्नमा आउन थालेका छन् ।

गोरखामा विशेषगरी गोरखा बजारमा यो फैलिएको छ । आरुघाट, पालुङटार जस्ता बाक्लो बस्ती भएका क्षेत्रमा पनि यसको दुश्प्रभाव फैलिएको छ ।कोभिड एक व्यक्तिबाट सिधै अर्को व्यक्तिमा सर्ने भएकाले नियन्त्रण तथा रोकथाम गर्न कठिन थियो । व्यक्ति(व्यक्ति बीचको दुरी बढाउनु पर्ने थियो । तर डेंगी एक व्यक्तिबाट सिधै अर्को व्यक्तिमा सर्ने होइन, यो सार्न लामखुट्टे माध्यम चाहिन्छ । लामखुट्टेबाट बच्न सके डेंगीबाट बचिन्छ । त्यसैले कोभिड सामना गरेर आएका हामी डेंगीबाट बच्न त्यति गाह्रो त होइन, यत्ति हो कि, सावधानी बढि चाहिन्छ । लामखुट्टेबाट जोगिनु नै डेंगीबाट जोगिनु हो ।

स्रोत, साधन, प्रविधि, शिक्षा, जनचेतना, प्रचार प्रसार गर्ने माध्यम आदिका दृष्टिले ज्यादै दुर्बल भएका बेला विफर जस्ता रोग उन्मुलन गर्न समर्थ हामी अहिलेको प्रविधिसम्पन्न समयमा डेंगीबाट बच्न त्यति धेरै तर्सिनु नपर्ने हो । लामखुट्टेबाटै सर्ने औलोलाई न्यूनिकरण गर्न सफल भएको उदाहरण पनि हामीमाझ छ ।

त्यसैले डेंगीबाट बच्न, डेँगी न्यूनिकरण गर्न हामी निश्चित पनि समर्थ हुनेछौँ, यत्ति हो, हामीमा चेतना, सरकारमा तदारुकताको खाँचो छ । लामखुट्टेबाट बच्ने विभिन्न उपायहरु छन्, तिनकै अवलम्बन गरी डेंगीबाट बच्नुपर्छ, सरकारले पनि लामखुट्टे नियन्त्रण गर्न सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्