
आशा घले बचाउ अभियानद्वारा उपचार खर्च हस्तान्तरण
श्री भूमे जनकल्याण समाजद्वारा सञ्चालित आशा घले गुरुङ बचाउ अभियानले संकलन गरेको रकम बोन म्यारोसम्बन्धी बिरामी आशा घलेलाई हस्तान्तरण गरिएको छ ।
अजीरकोट ४ स्थायी ठेगाना भई हाल अमेरिकामा रहेका समाजसेवी बाबुराम दवाडी र त्रिलोचन दवाडीको सक्रियतामा गोफन्टमार्फत अभियान चलाई संकलन भएको चार लाख दुई हजार सात सय चौरहत्तर रुपैया मंगलबार बिरामीलाई हस्तान्तरण गरिएको हो ।
उनले उपचार गराइरहेको काठमाडौँस्थित शिक्षण अस्पतालमा पुगेर भूमे जनकल्याण समाजले सो रकम हस्तान्तरण गरेको धनबहादुर गुरुङले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष धनवहादुर गुरुङ, वर्तमान अध्यक्ष कमलचन्द्र दवाडी, उपाध्यक्ष राजेन्द्र दवाडी तथा निवर्तमान सह सचिव रिल गुरुङको उपस्थिति रहेको थियो ।
अजीरकोट ४ पात्लेकी ३० बर्षीया आशा घले गुरुङ रगतमा हुने सेतो रक्तकोष(डब्लुबिसी) उत्पादन नभएर बिरामी भएकी हुन् । उनको उपचारमा करिब २० लाख रुपैयाँ खर्च हुने अस्पताल स्रोतले जनाएको छ ।
आर्थिक रुपमा विपन्न उनी उपचार खर्च अभावमा समस्या झेलिरहेकाले श्री भूमे जनकल्याण समाजले उपचार खर्च संकलन अभियान सञ्चालन गरेको समाजका निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिए ।




