
गोरखा बजार अनुमगन : अखाद्य पेय पदार्थ र तेल नष्ट गरियो
गोरखा सदरमकामका बजार अनुमगनको क्रममा भेटिएका अखाद्य पेय पदार्थ र खानेतेल नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका कार्यालय प्रमुख प्रशान्त पोखरेलको नेतृत्वको अनुगमन टिमले गरेको बजार अनुगमनका क्रममा भेटिएका अखाद्य पेय पदार्थ र तेल नष्ट गरिएको हो ।
अनुगमनको पहिलो दिन गोरखा बजार क्षेत्रको गैरी कुवादेखि ठूलो आँगन, पुरानो बसपार्क, शक्तिचोक र घ्याम्पेसाल चोक लगायतका क्षेत्रका होटल र उद्योगको अनुमगन गरिएको थियो ।
अनुगमनको पहिलो दिन तीन किराना पसल, तीन उद्योग र ८ वटा होटलमा अनुमगन गरिएको कार्यालयका खाद्य निरीक्षक सन्तोष थापामगरले जानकारी दिए । सो दुई वटा पसलमा म्याद गुज्रिसकेको पेय पदार्थ राखिएका ती पदार्थ नष्ट गरिएको उनले बताए । सदरमुकामका अधिकांश होटलहरु फोहोर देखिएकाले सफा गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए ।
अनुगमनको क्रममा अधिकांश पसलमा खाद्य र अखाद्य पदार्थसँगै राखेको पाइएको र किरा, मुसा, साङला, झिँगा लगायतका किट नियन्त्रण नगरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका कार्यालय प्रमुख प्रशान्त पोखरेलले बताए । पेय पदार्थ, तेल, घिउ घाममा देखाएर राखिएको र अधिकांश होटल सरसफाई नगरेको पाइएको उनले बताए । गोरखा सदरमुकाममा रहेको तीन वटा बेकरी उद्योग पनि सरसफाई नगरेको पाएको उनले जानकारी दिए ।
आपैm सामान प्याकिङ गर्दा लेबलिङ गरेर मात्र बेच्न उनले निर्देशन दिए । साथै होटलमा विभिन्न खानामा प्रयोग गरिने तेलमा टिपिएम मिटरले द्रुत परीक्षण गर्दा २५ प्रतिशत भन्दा बढी टिपिएम भएको पाएकाले तीनवटा होटलमा पकाएर राखेको तेल नष्ट गरिएको उनले जानकारी दिए । आज पनि बजार विभिन्न क्षेत्रको अनुगमन गरिने उनले जानकारी दिए ।
अनुगमनको क्रममा होटल, उद्योग सरसफाई गरेर संचालन गर्न र पसलहरुमा मूल्य सूची टाँस्नका साथै स्थानीय तह, घरेलु लगायतका ठाउँमा उद्योग, पसल दर्ता गरेर मात्र संचालन गर्नु आग्रह गरे ।
कार्यालय प्रमुख पोखरेलको नेतृत्वमा रहेको टिममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रतिनिधि श्याम सुन्दर ढकाल, पत्रकार महासंघ गोरखाका सहसचिव केशव गुरुङ लगायतको उपस्थिति रहेको थियो ।




