| सोमवार, कार्तिक २३, २०८३

महिलाको सांस्कृतिक क्रान्ति

प्रयासहरु सबै सफल हुँदैनन् । बिगतदेखि वर्तमानसम्मको घटनाक्रम केलाउँदा कतिपय प्रयास समाजले सहजै सकारेको छ तर कतिपय निक्कै कठिन भइरहेको अबस्था छ ।

विशेषगरी महिलाहरुकै आन्दोलन वा अभियानको चर्चा गर्नुपर्दा, विधवा महिलाले रातो लगाउने अभियान एकपछि अर्को सजिलैसंग समाजले स्वीकार ग¥यो । एकाधबाहेक प्राय सबै महिलाले यसलाई सकारेका छन् । यो एउटा सफल आन्दोलन मानिन्छ । सतिप्रथा पनि अत्यन्त सफल अभियान बनेको छ । आखिर परम्परा मान्छेले नै बनाएको न हो, मान्छेले तोड्न कुनै कठिनाइ हुँदैन ।

महिनावारी नबार्ने आन्दोलन पनि सफलप्राय नै मान्नुपर्छ । किनभने अहिले यो प्रचलन पनि एकाधमा मात्रै बाँकी छ । तर छोरीका नाउँमा पनि अंश दिनुपर्छ भन्ने अभियानले मूर्त आकार लिन सकेन । छुवाछुत प्रथा अधकल्चो छ ।
अहिले एउटा पहल थालिएको छ, छोरीले पनि बाउआमाको काजकिरिया गर्ने । यो सुरुवात भएको धेरै त भएको छैन, तर यसले गति लिइरहेको छ । केही बर्षमा जहाँतहीँ यसले स्थान लिने अनुमान गर्न सकिन्छ ।

यदि यो परम्पराले मूर्त रुप लियो, अर्थात सर्बत्र यस्तो हुन थाल्यो भने छोरा र छोरीमा गर्भदेखि नै हुने भेदभाव अन्त्य गर्न ठूलो टेवा पुग्नेछ । धेरैजसोले गर्भमा लिंग परीक्षण गरी जन्माउने वन नजन्माउने निर्णय गर्छन् । यदि अन्तिम कर्म पनि छोरीले गर्छन् भन्ने बुबाआमालाई अमिट छाप पर्छ, अनि छोरा र छोरी दुबै बराबरी भन्ने मान्यता अत्यन्त सार्थक बन्नेछ ।

अझै बाँकी रहन सक्छ, श्राद्धचाहिँ कसले गर्ने भन्ने प्रश्न । यसका बिषयमा पनि छोरीहरुले बैकल्पिक व्यवस्था अपनाउने हिम्मत निकाल्नु पर्छ । यो चाहिँ बाँकी छ । तब छोरा जन्माउने ध्याउन्नमा धेरै सन्तान जन्माउने अबस्थाको अन्त्य भई जनसंख्या पनि व्यवस्थित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्